जब रोनाल्डो पोर्चुगलको राष्ट्रपति बन्ने कुरा भयो…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोका बारेमा ब्यङ्ग गरेका छन् ।
अमेरिका भ्रमणमा रहेका पोर्चुगलका राष्ट्रपति रिबेलो डी सोसासँगको भेटको क्रममा ट्रम्पले रोनाल्डोबारे कुरा गरेका हुन् । ट्रम्प र सोसाबिच ह्याइट हाउसमा अनौपचारिक गफको क्रममा बुधबार रुसमा जारी विश्वकपका बारेमा कुरा निस्किएको इफे न्युजले जनाएको छ ।
ट्रम्प र सोसाबिचको पहिलो भेटको क्रममा रुस र त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनका बारेमा कुराकानी भयो । त्यो बेला यदि अब पुटिनसँग भेट भएमा पोर्चुगलको फुटबलका बारेमा कुरा गर्न नभुल्ने ट्रम्पले बताए ।
त्यसमा सोसाले पोर्चुगलमा विश्वका उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो रहेको नभुल्न भने । सोसाले ट्रम्पसँग भने, ‘नबिर्सिनु होला कि पोर्चुगलसँग विश्वका उत्कृष्ट खेलाडी छन्, जसको नाम क्रिष्टियानो रोनाल्डो हो ।’
ट्रम्पले विश्वकपमा पोर्चुगलले राम्रो गरिरहेको थाहा पाए । त्यसपछि उनले रोनाल्डो ‘कति उत्कृष्ट हुन्’ भनेर सोधे ।
जब सोसाले भने कि ‘रोनाल्डो विश्वका उत्कृष्ट खेलाडी हुन्’, त्यसपछि ट्रम्पले भने, ‘उसो भए अब चुनावमा राष्ट्रपतिमा रोनाल्डोले तपाईंलाई चुनौती देलान् । तर नआत्तिनु उनले जित्दैनन्, तपाईंले नै जित्नु हुन्छ ।’
त्यसको जवाफमा सोसाले ‘राष्ट्रपति ज्यू, तपाईंले केही थाहा पाउनु भयो । तर पोर्चुगल अमेरिका जस्तो होइन । केही फरक छ ।’