युवा क्रिकेटर रोहित पौडेलले तोडे पारसको किर्तिमान - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

युवा क्रिकेटर रोहित पौडेलले तोडे पारसको किर्तिमान



युवा क्रिकेटर रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन्।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा  न्युगिनी विरुद्धको खेलमा उनले १२६ रन प्रहार गरेर कीर्तिमान कामय गरेका हुन्। यसअघि यो कीर्तिमान पारश खड्काको नाममा थियो। उनले ११५ रन बनाएका थिए।

यसअघि २८ जनवरी २०१९ मा यूएई विरुद्धको खेलमा खड्काले १०९ बलमा ११५ रन बनाएका थिए। उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी हुन्।

पौडेलले नेपालका लागि १०७ बलमा १२६ रन बनाए। जसमा उनले चार छक्का र सात चौका प्रहार गरे।

यो खेलमा नेपाल ६ रनले पराजित भएको छ। पपुवा न्यूगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आठ विकेटको क्षतिमा २८६ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, सोमपाल कामी र कमलसिंह ऐरीले १८-१८ तथा भीम सार्कीले १७ र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए।

पपुवा न्यूगिनीका लागि नर्मन भनुवाले तीन, चार्ल्स अमिनी र असद भालाले दुई-दुई तथा नोसैना पोकनाले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले आठ विकेटको क्षतिमा २९२ रन बनाएको थियो। पपुवा न्यूगिनीका लागि चार्ल्स अमिनी र असद भलाले अर्धशतक प्रहार गरेका छन्। अमिनीले ७७ र भलाले ६० रन बनाए।

त्यस्तै, पपुवा न्यूगिनीका लागि नर्मल भनुआले ४७, टोली उराले ३८, रिले हेकुरले ३१ र जसुन किलाले १३ रन बनाए। पपुवा न्यूगिनीले २० अतिरिक्त रन पाएको छ।

नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र प्रदीपसिंह ऐरीले दुई-दुई विकेट लिए। त्यस्तै, सन्दीप लामिछाने र पवन सर्राफले एक-एक विकेट लिए।

नेपाल र पपुवा न्यूगिनीबीच दोस्रो एकदिवसीय खेल शनिबार बिहान ९:३० बजे त्रिवि मैदानमा हुनेछ।