रोहितले राखे नयाँ किर्तिमान - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

रोहितले राखे नयाँ किर्तिमान



भारतीय ब्याट्सम्यान रोहित शर्मा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । रोहितले सर्वाधिक एक सय सात छक्का हान्दै यसअघि वेस्ट इन्डिजका क्रिस गेलको नाममा रहेको किर्तिमान तोडेका हुन् । संयोगबस रोहितले वेस्ट इन्डिजविरुद्धकै खेलमा नयाँ किर्तिमान बनाए ।

रोहितले आइतबार राति अमेरिकामा भएको वेस्ट इन्डिजविरुद्वको खेलमा दुई छक्का प्रहार गरेर गेलको किर्तिमान भंग गरेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा आफ्नो ९६औं खेल खेलेका रोहितको कूल एक सय सात छक्का भएको छ । गेलले यसअघि ५८ खेल खेल्दै एक सय पाँच छक्काको किर्तिमान बनाएका थिए । सर्वाधिक छक्का प्रहार गर्ने तेस्रो खेलाडीको सुचीमा न्युजिल्यान्डका मार्टिन गुप्टिल छन् । गुप्टिलले ७६ खेलमा एक सय तीन छक्का हानेका छन् ।

रोहितको नाममा टी–२० मा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान समेत बनेको छ । रोहितले अहिलेसम्म चार शतक र १७ अर्धशतक प्रहार गरेका छन् । उनले न्युजिल्यान्डका कोलिन मुनरोको तीन शतकको कीर्तिमान समेत भंग गरेका हुन् । रोहितको नाममा टी–२०मा सर्वाधिक रन बनाउने खेलाडीको किर्तिमान समेत बनेको छ । उनले ९६ खेलको ८८ इनिङमा कुल २४ सय २२ रन बनाएका छन् ।