रोचक वार्ता: माओवादीमा प्रवेश कहिले गर्ने भन्दै ओलीले सोधेपछि... - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

रोचक वार्ता: माओवादीमा प्रवेश कहिले गर्ने भन्दै ओलीले सोधेपछि…



काठमाडौं- बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच एकाएक तय भएको वार्ताले विभाजननजिक पुगेको नेकपा एमालेका नेतादेखि कार्यकर्ता सम्मलाई उत्साहित बनायो । कार्यकर्ताले सामाजिक संजाल रंगाउन थाले । सबैमा पार्टी जोगिने भो भन्ने आशा पलायो ।

करिब दुई घण्टाको छलफलपछि नेताहरू प्रफुल्ल हुँदै निस्किएको समाचारले पार्टीपंतिमा झनै आशाको संचार गरायो । ओली-नेपाल आफ्ना समुहका नेतासंग छलफल गरेर बिहिबार फेरी वार्तामा बस्ने बाचा गरेर निस्किएसँगै विवाद समाधान भए जस्तै देखियो ।

बिहिबार पनि वार्ता त भयो तर समाधान भने भएन, नेताहरूका अनुसार अवस्था झनै बिग्रियो । नेतादेखि कार्यकर्ता निराश बने, अघिल्लो दिन देखेका सपना सबै हुरीले उदाएजस्तै भयो । यो वार्ताबाट सकारात्मक नतिजा निस्किन नसकेको नेताहरुले बताएका छन्।

बिहीबार बिहानै नेकपा स्थापना तथा लेनिन दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्न पुगेका प्रधानमन्त्री ओलीले बैठक फलदायी नहुने संकेत भने गरिसकेका थिए। मदननगर बल्खुमा ओलीले गरेको भाषणले बिहीबार दिउँसो हुने बैठकबाट सकारात्मक बन्दैन भन्ने करिव करिव आंकलन नेताहरूले गरिसकेका थिए ।

ओलीले आफूले गरेको वार्तालाई कमजोरीको रुपमा नलिन र गुटगत नभई व्यक्तिगत जिम्मेवारी दिने भाषण गरेपछि नेताहरू सशंकित बनेका थिए ।

लामो समयको संवादहीनतालाई तोड्दै बुधबार भएको वार्तामा ओली सकारात्मक देखिएको तर बिहिबार एकाएक उनको शैलीमा परिवर्तन आएको नेता नेपालले निकट नेताहरूलाई ब्रिफिङ गरेका थिए ।

बिहीबारको छलफलमा प्रधानमन्त्री ओली पार्टी मिलाउने भन्दा दुरी बढाउने शैलीमा नेता नेपालसँग प्रस्तुत भएका थिए । पार्टी फुटाएर हिँडेको, आफैलाई हटाउन लागिपरेको र पार्टीभित्र अनैतिक र घटिया हर्कत गर्ने व्यक्तिसँग बार्गेनिङ गर्नुपरेको भन्दै ओलीले कुनैपनि माग सम्बोधन नहुने संकेत गरेका थिए ।

नेता नेपालले भने सबैभन्दा बढी बितण्डा ओली समुहबाट नै भएको बताएका थिए । पार्टीमा योगदान गरेका व्यक्तिहरूमाथि तथानाम बोल्ने र आगो ओकल्ने काम भएको भन्दै पार्टीलाई गलत मोडतिर लैजान ओलीसमुहकै हात रहेको बताएका थिए ।

दुई नेताबीच निकै घोचपेच भएको र सो क्रममा माओवादीमा बिलय हुन खोजेको र प्रचण्डको पुच्छर बनिसकेको भन्दै ओलीले नेपालमाथि व्यंग्य गरेका थिए । ओलीले माओवादीमा कहिले प्रवेश गर्नुहुन्छ ? भन्दै प्रश्न समेत गरेको एक नेताले बताए । ति नेताका अनुसार प्रधानमन्त्री ओलीले केन्द्र र प्रदेश सरकारहरु कहिलेसम्म ढाल्नुहुन्छ ? भन्दै प्रश्न समेत गरेका थिए ।

ओलीको जवाफ दिँदै नेपालले एमाले पार्टीलाई प्रचण्ड र माओवादीको पुच्छर बनाउने काम सुरुमा ओलीले नै गरेको आरोप लगाएका थिए । नेता नेपालले पार्टीमा तपाईँहरूले गरेका ताण्डव नरोकिएमा माओवादीसँग मात्र होइन देशका विचार मिल्ने सबै शक्तिसंग सहकार्य हुने बताएका थिए ।

नेता नेपालले पदका लागि हतारिएर माओवादीसँग एकता गर्ने र आफूलाई अनुकूल नहुँदा पार्टी र आन्दोलन नै धरापमा पारेर भाग्ने आफ्नो बानी नभएको बताएका थिए ।