मधेश जोड्ने द्रुत मार्ग बनाउँदा बुङ्मती चक्रपथ बाहिर बनाउन माग  - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

मधेश जोड्ने द्रुत मार्ग बनाउँदा बुङ्मती चक्रपथ बाहिर बनाउन माग 



काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पम्फा भुसालले तराई– मधेश जोड्ने द्रुत मार्ग बनाउँदा ललितपुरको बुङ्मती क्षेत्रको चक्रपथ बाहिर बनाउन माग गरेका छन् ।

उनले धान रोप्ने समयमा बुङमतीवासी आतंकित भएका तर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद पुष्पा भुसालले संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने विधेयक ल्याउन सरकारसित माग गर्दै आफ्नो पार्टी सदन छाडेर नबाहिरिने स्पष्ट पार्नुभयो ।

सांसद अमृता अग्रहरिले तराई– मधेश जिल्लामा धान रोप्ने समयमा मल तथा डिजेलको अभाव रहेका तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उमाशंकर अगरियाले धनुषा जिल्लाका नदी नियन्त्रणका लागि बजेट नभएको हुँदा वर्षात् बाढी आउँदा स्थानीय बासिन्दा अहिले बिचल्लीमा परेको बताए ।

सांसद प्रेम सुवालले नेपाली भूमि सीमा क्षेत्रमा अतिक्रण हुँदा सरकार के गर्दैछ भन्ने प्रश्न गर्दै सीमा क्षेत्रमा बनेका बाँधका कारण नेपाली भूमि वर्षात्का समयमा डुबानमा परेको बताए ।

सांसद हृदयेश त्रिपाठीले संविधानअनुसार राज्य पुनःसंरचना गर्दा संरक्षित र विशेष क्षेत्र घोषणा गर्न माग गरे । सांसद राजेन्द्र केसीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा यसको असर सबैतर्फ परेको बताउँदै सरकारले निषेधित क्षेत्र घोषणा गरी लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाए ।

सांसद महेश्वर गहतराजले तराई–मधेश जिल्लाका नदी नियन्त्रणमा ध्यान दिन माग  गरे । सांसद नरबहादुर धामीले महाकाली अञ्चल अस्पतालमा दरबन्दीअनुसार २७ चिकित्सक पठाउन सरकारसित माग गरे ।

सांसद दलबहादुर रानाले पाल्पा जिल्लामा रहेका विद्यालयका भौतिक पूर्वाधारमा ध्यान दिन र शिक्षक दरबन्दी मिलानमा ध्यान दिन आग्रह गरे । सांसद नवराज सिलवालले काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त शहर बनाउन सरकारले विशेष कार्ययोजना ल्याउनुपर्ने बताए । सांसद दुर्गा पौडेलले प्राडा.गोविन्द केसीका विगतका मागलाई कार्यान्वयन गर्न सरकारले ध्यान दिनुपर्ने माग गरे ।

बैठकको शून्य समयमा सांसदले भू–उपयोग नीति ल्याउन, सुकुम्वासी समस्या समाधान गर्न र गैरआवासीय नेपालीलाई नेपालमा लगानीको वातावारण मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले आमाका नामबाट नागरिकता वितरण गर्न, महँगी नियन्त्रण गर्न, बाढीपहिरो जस्ता विपद् रोकथाममा ध्यान दिन र नयाँ वन नीति ल्याउन पनि माग गरे । शून्य समयमा अम्बिका थापा, आशाकुमारी विक, कृष्णकुमार श्रेष्ठ, कृष्णभक्त पोखरेल, खगराज अधिकारी, गणेश पहाडी र छक्कबहादुर लामा रहेका थिए । बैठक आधा घण्टाका लागि स्थगन भएको छ ।

 

-रासस