जथाभावी बाटो काट्नेलाई पक्राउ गर्न आदेश - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

जथाभावी बाटो काट्नेलाई पक्राउ गर्न आदेश



काठमाडौं । ट्राफिक महाशाखाले जथाभावी बाटो काट्नेलाई कारवाही गर्ने भएको छ । उपत्यकाका विभिन्न १३ स्थानमा आजदेखि नै अभियान सुरु गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी वसन्त पन्तले एकमहिना सचेतना अभियान सुरु गर्न लागेको जानकारी दिए । उनले आजदेखि सुरु भएको अभियान एकमहिनासम्म रहने र त्यसपछि पनि जथाभावी बाटो काटे कारवाही गर्ने जानकारी दिए ।

महाशाखाले आजदेखि उक्त अभियान सुरु गर्न लागेको जनाएको छ ।

“यात्रुलाई जथाभावी बाटो काट्दा कस्ता कस्ता दुर्घटना हुन्छन् जानकारी गराउने हो,” ललितपुर ट्राफिक प्रमुख सीताराम हाछेथु भन्छन्, “हामीले सर्वसाधारणलाई जेब्राक्रसबाट मात्रै बाटो काट्न अनुरोध गर्छौं । जथाभावी काटे आधाघन्टा सँगै राखेर क्लास लिन्छौं ।”

प्रहरीले यसअघि पनि अघिल्लो वर्ष यस्तै अभियान जारी राखेको थियो । अघिल्लो वर्ष प्रहरीले जथाभावी बाटो काट्नेलाई २ सय जरिबाना तिराएको थियो ।

उपत्यकामा हरेक वर्ष ४० प्रतिशतभन्दा बढी पैदलयात्रु सडक दुर्घटनाबाट मृत्यु भएको भन्दै महाशाखाले यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ को अधिकारलाई प्रयोग गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।