प्रधानमन्त्रीको संदेश बोकेर खुमलटार पुगेका चार नेता रित्तै फर्किए
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउने प्रयत्नबाट हार खाएका छैनन् ।
शुक्रबार पनि प्रधानमन्त्रीको संदेशबाहकको रूपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । शुक्रबार बिहान मन्त्री ज्ञवाली प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको सन्देश लिएर खुमलटार पुगेका हुन् ।
यसपटक भने प्रधानमन्त्री ओलीले जति जना दुत पठाएपनि प्रचण्ड भने आफ्नो अडानमा टसमस भएका छैनन् । परराष्ट्रमन्त्री ज्ञवालीसँग पनि प्रचण्डले अब ओली नसुध्रिएसम्म कुनै वार्ता र छलफल नहुने सन्देश बालुवाटार पठाए ।
यसअघि बिहिबार प्रधानमन्त्री ओलीका अत्यन्तै निकट मानिने प्रदेश नं ५ का मुख्यमन्त्री समेत रहेका शंकर पोखरेल खुमलटार पुगेका थिए । प्रधानमन्त्री ओलीको संदेश लिएर पुगेका पोखरेल पनि खाली हात फर्किएका थिए ।
त्यस्तै बुधबार महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङ र बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई दूत बनाएर पठाएका थिए । उनीहरुले रोकिएको संवाद सुचारु गर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डलाई बालुवाटार आउन निम्तो दिएका थिए ।
अध्यक्ष प्रचण्डले वान टु वान वार्ताको औचित्य नरहेको भन्दै बालुवाटार जान अस्वीकार गर्दै आएका छन् । उनले सचिवालय बैठक बोलाएर सामूहिक छलफल गर्ने अडान लिँदै आएका छन् ।
उनले प्रधानमन्त्रीले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगरेको, रअ प्रमुखको भेटवार्ताको संवाद गोप्य राखेको, कर्णालीको विवाद र पर्सामा आफ्ना कार्यकर्ताका हत्यारालाई संरक्षण गरेको भन्दै असन्तुष्टी जनाउँदै आएका छन् ।