रविन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

रविन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की



काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाकार विष्णु रिमालले आफ्नो सीमामा बस्न भन्दै धम्क्याएका छन् ।

शनिबार साँझ मिश्रले प्रधानमन्त्री ओली, उनको कदम र भ्रष्ट्राचारबारे लेखेको ट्वीटमा कमेन्ट गर्दै रिमालले मिश्रलाई आफ्नो सीमामा बस्न भनेका हुन् ।

मिश्रले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘कस्तो समय आयो! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री/राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने।अब अति भो!’

उनको यो ट्वीटमा जवाफ फर्काउँदै रिमालले सीमामा बस्नुस् रबीन्द्र जी! भन्दै धम्क्याएका छन्। जवाफमा रिमालले लेखेका छन्, ‘सीमामा बस्नुस् रबीन्द्र जी! तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनूँ- मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससंग समयले जवाफ माग्ने छ।’

रिमालले दिएको जवाफमा ट्वीटर प्रयोगकर्ताहरू खनिएका छन् । कहिले रिमाललाई अरू सबै सकिएर धम्क्याउन सुरू गरेको भन्दै व्यंग्य गरेका छन् ।

रिमाल यसअघि पनि ट्वीटकै कारण विवादमा आउने गरेका छन् । उनले केहिसमय अगाडी छौँडा भन्दै लेखेको ट्वीट निकै विवादमा तानिएको थियो ।