विष्णु रिजालले देखाए एकताका तीन विकल्प
काठमाडौं- माधव नेपाल समूहका नेता विष्णु रिजालले फेरि पनि कम्युनिष्ट एकताको संभावना रहेको बताएका छन् ।
सर्वोच्च अदालतले सत्तारूढ नेकपा खारेज गरिदिएपछि पुरानै पार्टी एमालेमा फर्किएको भोलिपप्टै नेता रिजालले समाजिक सञ्जालमार्फत तीन काम गर्न सके कम्युनिष्टहरु एक हुन सक्ने संभावना अझै रहेको बताएका हुन् ।
सोमबार नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बसेर अदालतको फैसलाअनुसार एकीकरण अघिकै आआफ्ना दलमा फर्किने निर्णय गरेको थियो ।
‘कम्युनिस्ट आन्दोलनको सिद्धान्तनिष्ठ, पारदर्शी र टिकाउ एकताका लागि नयाँ सम्भावना र आधारहरूको खोजी निरन्तर गरिरहनुपर्छ र कुनै न कुनै बिन्दुमा एकता सम्भव छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
यस्ता छन् नेता रिजालले औंल्याएका तीन कामः
१. विगतमा निष्क्रिय रहेका पार्टी संरचनाहरूको पुनर्स्थापना र सञ्चालन
२. गत निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धनलाई प्राप्त जनादेशका आधारमा वाम सरकारको निरन्तरता
३. वामपन्थी जनमत विभाजित हुन नदिन आगामी निर्वाचनमा वाम गठबन्धन निर्माण गरेर जाने गरी वातावरण निर्माण ।