रेशम चौधरीलाई सपथ पछी पुन: जेल हालिने ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

रेशम चौधरीलाई सपथ पछी पुन: जेल हालिने !



काठमाडौँ  – कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशमलाल चौधरीले सांसदको सपथ लिएसँगै उनी पुन: जेल जाने भएका छन् । चाैधरीको सपथ दिउँसाे ३ बजे सिंहदरबारमा हुनेछ ।

सपथका लागि चौधरीलाई प्रहरीले सिंहदरबार पुर्‍याएर सपथपछि फेरि जेल लैजाने सभामुख कृष्ण बहादुर महराका स्वकीय सचिव डिल्ली मल्लले जानकारी दिए । सपथ लिए पनि चौधरी संसद बैठकमा उपस्थित नहुने मल्लले बताए ।

‘रेशम चौधरीको मुद्दा कानुन अनुसार अघि बढ्छ । निर्वाचन आयोगले प्रमाणपत्रसहित पत्र पठाएपछि शपथ गराउनु संसदको कर्तव्य हो’, सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लले भने, ‘शपथपछि चौधरी निलम्बित संसदको रूपमा जेलमै रहन्छन् । संसद बैठकमा बस्न पाउँदैनन् ।’

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ प्रतिनिधिसभाको सदस्य पक्राउ सम्बन्धी नियम छ । यो नियमको उपनियम ३ मा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा सदस्यको हैसियतले कुनै कार्य गर्न नपाउने उल्लेख छ ।

चौधरीलाई राजपा र सरकारबीच भएको सहमतिअनुसार सपथ खुवाइएको हो । उनले सपथग्रहणको प्रमाणपत्र र संसदको लोगो मात्र पाउनेछन् ।

प्रतिनिधि सभा नियमावली अनुसार पारिश्रमिक र अन्य सेवासुविधा पनि पाउने छैनन् । संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसामा परी ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको थियो ।

निर्वाचित भए पनि उनको सपथ भएको थिएन । घटना भएको झण्डै ३० महिनापछि गत असार १४ गते चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका त्यसपछि उनलाई प्रहरीले जेल हालेको छ । चौधरी अहिले डिल्लीबजार कारागारमा छन् । चौधरीमाथि तीन वर्षभन्दा बढी कैद सजाय हुने नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालले चौधरीलाई सपथ खुवाउनु पर्ने माग पटक पटक गर्दै आएको थियो । पुस १० गते भएको राजपा नेताहरूसँगको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले माग पूरा गर्न ७ दिनको समय मागेका थिए ।

पुस ११ गते सुरू भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले चौधरीलाई छिटो सपथ खुवाउनु पर्ने माग गरेका थिए । प्रधानमन्त्रीले राजपासँग भएको राजनीतिक सहमतिअनुसार चौधरीलाई सपथ मात्र खुवाउने निर्णय लिएका हुन् ।