रेणु दाहालले आर्थिक अनियमितता गरेकाे गम्भीर आरोप - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

रेणु दाहालले आर्थिक अनियमितता गरेकाे गम्भीर आरोप



काठमाडाैं- भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले स्थानीय तहको निर्वाचनमा रेणु दाहाललाई जिताएर कांग्रेसले आफ्नै खुट्टामा आफैं बन्चरो हानेको बताएकी छिन्।

महानगर प्रमुख दाहालको कार्यशैलीप्रति असन्तुष्ट शाहले मेयर दाहालले आर्थिक अनियमितता गरेको आरोप लगाइन्। महानगरको नीति निर्माणका क्रममा मेयरले बाइपास गरेको उनकाे आराेप छ।

महानगरकाे कार्यसम्पादन तथा पछिल्लाे समय नगरप्रमुख रेनु दाहाल र प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदिसँग आफ्नाे विवाद बढ्दै गएकाे भन्ने समाचार प्रकाशनमा आएकाे सम्बन्धमा मंगलबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै शाहले १२ बुँदामा आफ्ना लिखित असहमति जनाएकी हुन्।

उनले महानगरमा लेखा समिति गठन नगरी आर्थिक अनियमितता गरेकाे आराेप लगाएकी छिन्। उपप्रमुख शाहले महत्वपूर्ण समितिहरु एकलाैटी ढंगबाट गठन गरिएकाे तथा आस्था र विचारका आधारमा कर्मचारीहरुलाई दु:ख दिने काम गरिएकाे समेत दाबी गरेकी छिन्।

शाहले स्थानीय सरकार सञ्चालन ऐनले दिएको प्रावधानअनुसार आफूले काम गर्न मेयरको कारणले नपाएको गुनासो गरिन्। उनले भनिन्, ‘सरकारी गाडी मुग्लिन पारी पुर्‍याएर खसालिएको छ।’ सरकारी गाडी राति नौं बजे किन निकालिएको भन्दै उनले प्रश्न गरिन्। गाडी दुर्घटना भएको भनी आर्थिक अनियमितता गरेको शाहले आरोप लगाइन्।

दुई वर्षको कार्यकालमा एक पटक पनि मेयर दाहालसँग सौहार्द वातावरणमा छलफल हुन नसकेको उपप्रमुख शाहकाे भनाइ छ। महानगरको मुख्य हर्ताकर्ता मेयरले आफूलाई मात्रै सम्झने गरेको शाहकाे आरोप छ। उनले क्रिकेट रंगशाला राज्यले बनाउनु पर्नेमा धुर्मुस सुन्तली फाउण्डेसनलाई जिम्मेवारी दिएको भन्दै आपत्ति जनाइन्।

घरभाडा लिएकाे भनी मिडियामा अतिरन्जना फैलाउने काम गरिएकाे भन्दै उनले आगामी दिनमा पनि आफूबाट साे कार्य नहुने जिकिर गरिन्। ‘घरभाडा आफूले माग नगरेकाे विषयलाई उठान गरी विषायान्तर गरिएकाे र आगामी दिनमा पनि माग नगर्ने जानकारी गराउँछु’, उनले भनिन्।

कार्यपालिका बैठकमा ल्याइने एजेन्डाहरु एकलाैटी तरिकाले ल्याउने गरिएकाे तथा बैठकका सम्बन्धमा समयमै जानकारी समेत दिने नगरिएकाे उनले आराेप लगाइन्। ‘ल्याइएका एजेन्डाहरुमा विमति राख्दैगर्दा महानगर प्रमुखले चलाउने हाे, तपाई‌ंहरुले हाेइन भन्ने जस्ता अमर्यादित शब्द प्रयाेग गर्ने गरिएकाे छ’, उपप्रशुख शाहकाे आराेप छ।

कर्मचारी, मेयर र उपमेयर को हाे भनी कित्ताकाट गर्ने कार्य भएको उनकाे दाबी छ। कर्मचारी भर्ना गरेको जानकारीसमेत आफूलाई नदिने गरिएकाे उनले बताइन्।

उपप्रमुख शाहले नगरप्रमुख दाहालले महानगरलाई राजनीतिक थलाे र केन्द्र बनाउन खाजेकाे आराेप लगाइन्। उनले भनिन्, ‘महानगरले हाल ल्याएका दीर्घकालीन येाजना भनिएका कुनै पनि याेजना अहिलेकाे नभएकाे र अघिल्लाे सरकारकाे पालामा आएकाे बजेटकाे निरन्तरता हाे। महानगरले विकासका सन्दर्भमा कुनै पनि काम गर्न सकेकाे छैन।’

स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपप्रमुखकाे अधिकारलाई प्रयाेग गर्नका लागि पनि महानगरले आफूलाई प्राविधिक र कर्मचारीहरु उपलब्ध नगराएकाे आराेप शाहकाे छ।

यसअघि शाहले आफूमाथि ज्यान मार्ने धम्कीसमेत आएकाे दाबी गरिन्। भरतपुर महानगरपालिकाको उपप्रमुखको सचिवालयले चलाउँदै आएको फेसबुक म्यासेन्जरमा ‘स्वप्नील सुवेदी’ नामको आइडीबाट ज्यान मार्ने धम्की दिइएको उपमेयर पार्वती शाहले बताएकी हुन्।

उपमेयर शाहका अनुसार फागुन ४ गते म्यासेज आएकाे र म्यासेज सतर्क गराउनका लागि म्यासेज पठाइएकाे बताएकाे छ। ‘धम्की आउनु २ दिनअघि मात्रै महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीसँग भनाभन भएकाे थियाे। उहाँले कार्य सम्पादनका क्रममा जनप्रतिनिधिलाई नगन्ने, म आफैंलाई ‘मेयरका अघि तपाईं काे हाे?’ भन्नेजस्ता अमर्यादित शब्दहरु बाेल्नुभयाे’, शाहले भनिन्, ‘धम्की आएपछि पनि मेयर तथा महानगरबाट कुनै पनि किसिमकाे गम्भीरता नदेखाइएकाेले म मिडिया समक्ष आएकी हुँ।’

उनले गत बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय चितवनमा आफूलाई आएकाे धम्कीबारे जानकारी गराएकाे बताइन्। ‘अनेरास्ववियू, युवा स‌ंघजस्ता संगठनकाे नाम लिइएकाे छ। चेतावनीपूर्ण भाषामा यसपटक सतर्क मात्रै गराएका हाैं भनिएकाे छ’, शाहले भनिन्, ‘सुरक्षा संवेदनशिलतालाई मध्येनजर गर्दै प्रहरीमा बताएकी छु।’