सिंहदरबारको पुनर्निर्माण हुने, समिति गठन - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

सिंहदरबारको पुनर्निर्माण हुने, समिति गठन



काठमाडौं, माघ २६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारको मुलभवनको पश्चिमतिरको भाग पुनर्निर्माण गर्न कार्यकारी सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ ।

प्राधिकरणको मंगलबार बसेको कार्यकारी समितिको बैठकले सिंहदरबारको पश्चिमतिरको भागको यथाशीघ्र प्रवलीकरण गरी पुनःनिर्माण गर्ने कार्य अघि बढाउन पराजुलीको संयोजकत्वमा समिति गठन गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।

समितिमा पुरातत्व विभागका प्रतिनिधि, प्राधिकरणका सहसचिव, सहरी विकास मन्त्रालयका सहसचिव, पुरातत्वविद् रोशन रञ्जितकार, सन्तोष श्रेष्ठ र रवीन्द्र पुरी सदस्य छन। समितिले यथाशीघ्र सिंहदरबारको पश्चिमतिरको मुल भागलाई नभत्काएरै पुनःनिर्माणको काम अघि बढाउनेछ ।

समितिलाई आवश्यक सल्लाह र सुझाव दिन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा पुरातत्वविद्, संरक्षणविद्लगायत रहेको सल्लाहकार समिति पनि गठन गरिएको छ ।

ऐतिहासिक धरोहरका रुपमा रहेको उत्कृष्ट नमुना डिजाइनमा बनेको उक्त भवनलाई गोरखा भूकम्पले क्षति पुर्‍याएको थियो । रासस