रोनाल्डो र जिदान बिनाको ला लिगा: रियल मड्रिडको गजबको जित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रोनाल्डो र जिदान बिनाको ला लिगा: रियल मड्रिडको गजबको जित



स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र लगातार युरोपियन च्याम्पियन बनाउन सफल प्रशिक्षक जिनेदिन जिदान बिनाको ला लिगा यात्रा रियल मड्रिडले जितसहित सुरु गरेको छ ।

रोनाल्डो ९ वर्षको बसाईपछि ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएपछिको पहिलो ला लिगा सिजनमा स्पेनिस क्लबले विजयी सुरुवात गरेको हो ।

नयाँ सिजन अन्तर्गत आइतबार राति भएको ला लिगाको आफ्नो पहिलो खेलमा रियल मड्रिडले गेटाफेलाई २–० ले हराएको हो । युरोपियन च्याम्पियन रियल मड्रिड गएको सिजन लिगका सुरुका खेलमा खराब प्रदर्शन र त्यसपछि पनि खासै सुधार गर्न नसक्दा तेस्रो स्थानमा रहेको थियो ।

तर रोनाल्डो बिनाको यो सिजन रियलका लागि कठिन हुने अनुमान गरिएका बेला जितसहित सुरुवात गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन डानी कार्वाहाल र ग्यारेथ बेलले गोल गरे ।

२० औँ मिनेटमा कार्वाहालले गोल गर्दै रियललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५१ औँ मिनेटमा बेलले गोल गर्दै रियलको २–० को जित निश्चित गरे ।

जुलियन लोपेतेगीको प्रशिक्षणमा पहिलो ला लिगाका खेलमा कार्वाहालको गोल निकै सुन्दर तरिकाले भयो । बेलको क्रस प्रहार गेटाफेका गोलरक्षक डेविड सोरिएले पन्च गरे । त्यो बल कार्वाहालले पाए र त्यसलाई गोलमा परिणत गरे ।

दोस्रो हाफमा मार्को एसेन्सिओले पनि गोल गर्ने प्रयास गरेका थिए । इन्जुरी समयमा गेटाफेले गोल गर्ने प्रयास गरेको थियो ।

रोनाल्डो र जिदान बिनाको पहिलो प्रतिस्पर्धात्मक खेलमा रियल मड्रिड पराजित भएको थियो । युइएफए सुपर कप अन्तर्गतको खेलमा अतिरिक्त समयमा रियल मड्रिड एथ्लेटिको मड्रिडसँग ४–२ ले हारेको थियो ।

तर रियलले ला लिगामा भने विजयी सुरुवात गरेको छ । रोनाल्डो गए पनि उनको ठाउँमा अर्को खेलाडी रियलले अनुबन्ध गरेको छैन । गेटाफेसँगको खेलमा एसेन्सिओ, बेल र करिम बेन्जिमा पहिलो पंक्तिमा थिए ।