भारतको 'रियल प्रोजेक्ट' र चुनाव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतको ‘रियल प्रोजेक्ट’ र चुनाव



– डम्बर बहादुर सुनार
नेपालमा यूगपुरुष गिरिजा प्रसाद कोइरालाले शान्ति प्रक्रियाताका आफ्नो ओठमै झुण्डाईरहने मन्त्र; सहमति, सहकार्य, एकता जस्तै भारतका शान्तिप्रेमी नेता एवं भूतपूर्व प्रधानमन्त्री अटल विहारी बाजपयीले काश्मिरको अस्थिरताको विषयमा पनि जम्बुरियत, काश्मिरियत, ईन्सानियत भनेर प्रायजसो उच्चारण गरिरहन्थे । नेपालमा शान्ति प्रक्रियाले एउटा चरण पार गरेर नयाँ राजनीतिक अध्यायमा प्रवेश पाएको छ भने भारत भने त्यही जम्मु र काश्मिरको विषयमा बारम्बार अल्झिरहेको छ । फेब्रुअरी महिनाको १४ तारिकका दिन मसुद अजहरले नेतृत्व गरेको कट्टरपन्थी समूह जैस-ए-महोमद द्वारा श्रीनगर बाट २० किलोमिटर टाढा पुलुवामा भन्ने ठाउँमा आत्मघाती कार बम हमला गर्दा सिआरपीएफ सवार बस ध्वस्त हुँदा ४० जना भारतीय जवानको मृत्यु भएको थियो।

सिमला सन्धिबाट सन् १९७२ मा ४६० माईल लामो लाइन अफ कन्ट्रोल निर्माण भए पश्चात् पाकिस्तान र भारतको बिचमा सौहाद्रता कायम हुन्छ भन्ने धेरैमा विश्वास थियो तर त्यो सन्धिले युद्ध रोक्ने रक्षा कवच बन्न सकेन । नि:सन्देह दुवै मुलुक आणविक शक्ति राष्ट्र हुन् र जब “टोटल वार” मा दुवै मुलुक फस्नेछन तब अकल्पनीय परिणाम बाहेक अरू केही अपेक्षा गर्न सकिँदैन। १९९९ को कार्गील युद्धताका दुवै मुलुक सम्भावित परमाणु युद्धमा होमिने छन् भन्ने खतरालाई मध्यनजर गर्दै तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले बडो कूटनीति पूर्वक सन् १९६२ मा भएको “क्युबन मिसाइल क्राईसिस” उदाहरण देखाउँदै भारत र पाकिस्तान दुवै पक्षलाई पछाडि हटाउन सफल भूमिका खेलेका थिए । अहिले उत्पन्न भएको दुई पक्षीय विवादलाई कम गर्न अमेरिका, युएन, युरोपियन युनियन, युके लगायतका मुलुकले आव्हान मात्र गरेका छन् भने कुनै ठोस कदम भने चालेका छैनन्। यद्धपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले भने आफ्नो पहलकदमीमा सम्भावित युद्धलाई टारेको भन्ने भनाई सार्वजनिक रूपमा भनेका छन्। कार्गिल युद्धको बेलामा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले अमेरिका बोलाएर मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए तर डोनाल्ड ट्रंपले गरेको दाबी भने अलि भिन्नै प्रकृतिको छ। अर्को पक्ष के पनि हेर्न जरुरी छ भने तत्कालीन समयमा अमेरिका, भारत र पाकिस्तानको राजनीतिक समिकोण बेग्लै प्रकृतिको थियो। यसले के देखिन्छ भने अमेरिकाले यो विषयलाई गम्भीर रूपमा ग्रहण गरेको छैन। बेलायती विदेश मन्त्री मार्क फिल्डले तत्काल सम्भावित युद्ध रोकी भारत र पाकिस्तानलाई कूटनीतिक समाधानको अपिल भन्दा अरू भूमिका खोज्ने गरी आफ्नो भनाई राखेका छैनन्।

पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले भारतका विङ्ग क्याप्टेन अभिनन्दन वर्तमान लाई रिहाइ गर्ने घोषणा गरिरहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञान भवनमा एउटा वैज्ञानिकहरूको समूहलाई सम्बोधन गर्दा “प्रायोगिक परियोजना” पुरा भएको र अब “वास्तविक परियोजना” पुरा गर्न बाकी रहेको भनाई राखेका थिए। भारतले हवाई जेट आक्रमण मार्फत १००० किलो लेजर गाईडेड बम द्वारा पिओके बालाकोट स्थित कट्टरपन्थीको ६ वटा क्याम्प ध्वस्त बनाई ३०० जति कट्टरपन्थीहरूको मृत्यु भएको भनेर जिकिर गर्‍यो यद्धपि पुष्टि हुन भने बाँकी नै छ । जवाफमा पाकिस्तानले भारतको उक्त कदम कायरताको संज्ञा दिँदै “इको टेरोरिजम” भनी व्याख्या गर्नुको साथै भारतले गरेको दावा झुटो भएको भनी भन्यो र आफ्नो जङ्गलमा ठुलो परिणाममा रुखहरू ध्वस्त पारेको भन्दै युएन मा मुद्दा दायर गर्ने तयारीमा छ ।

भारतमा आगामी महिना हुने लोकसभा निर्वाचनमा आफ्नो अवस्थालाई अझै बढी कसरी सुरक्षित र मजबुत बनाउने भन्ने विषयलाई अहिले सृजना भएको घटनाक्रमले वर्तमान सरकारलाई केही अवसर पनि जुराएको छ । अवसर यस अर्थमा कि विश्वको सबै भन्दा ठुलो लोकतान्त्रिक मुलुक र उदयीमान शक्ति भारतका जनताले आफ्नो मुलुकको नेतृत्व गर्ने नेता बोल्ड र बलियो होस् भन्ने चाहेका छन् किन भने बोल्ड नेतृत्वले मात्र भारत जस्तो ठुलो मुलुकमा विकास र स्थायित्व सम्भव हुन्छ भन्ने विश्वास उनीहरूमा छ। त्यसैले आम जनता माझ मोदी आफ्नो र आफ्नो दलको उपस्थिति जबर्जस्त बनाउने रणनीतिको रूपमा अहिलेको अवसरलाई प्रयोग गर्न चाहन्छन्। भारतीय सरकारले दाबी गरेको ३०० भन्दा बढी सङ्ख्यामा आतङ्ककारी मारिएको विषय अहिले सम्म पुष्टि भएको छैन यदि पुष्टि भएन भने विपक्षीले यही मुद्दालाई जोडतोडका साथ उचाल्ने छन् र मोदीको ईमेजलाई टार्निश गर्ने कोसिस गर्ने छन्। आफूले सार्वजनिक रूपमा सम्बोधन गर्ने कार्यक्रममा पनि अभिनन्दनको रिहाइ भारतसङको डरको उपज हो भनी व्याख्या गर्ने गर्छन् मोदी लगायत संस्थापन पक्ष।

अहिले तत्कालै चाल्ने कदमले आगामी निर्वाचनमा कुनै प्रकारको प्रतिकुलता सृजना नहोस् भन्ने सम्बेदनाशिलतालाई मोदीले बडो महत्त्व दिएको देखिन्छ त्यसैले उनको “रियल प्रोजेक्ट” अन्तर्गत तत्कालै कुनै पनि हानि हुने कदम चाली हाल्ने देखिँदैन। पाकिस्तानले पनि धम्कीपूर्ण भाषा प्रयोग गर्दै भनेको थियो कि यदि दुवै देश युद्धमा फस्यो भने उत्पन्न हुने परिस्थिति दुई देश भित्र मात्र सीमित रहँदैन । त्यति मात्र होइन विङ्ग क्याप्टेन भर्तमानालाई रिहाइ गर्दा संसद्मा “पिस जेस्चर” को संज्ञा दिँदै आफू जहिले पनि शान्तिको पक्षमा रहेको भन्दै परिपक्व राजनीतिज्ञको रूपमा अन्तर्राष्ट्रिय राजनीतिमा आफ्नो कद माथिल्लो दर्जामा प्रस्तुत गरेका थिए । रिहा गरेको विषयलाई भारतले पाकिस्तानको कमजोरीको रूपमा ग्रहण गर्ने कुचेष्टा गरे पाकिस्तानले आफ्नो राष्ट्रिय सुरक्षाको निम्ति जस्तो सुकै कदम चाल्न पनि पछि नहट्ने धम्कीपूर्ण तर परिपक्व सन्देश पनि दिएका थिए । युद्धको मूल्यको विषयमा दुवै देशलाई राम्रो ज्ञान भएको हुनाले सकेसम्म युद्धबाट टाढा हुन चाहन्छन् कुनै पनि मुलुक, त्यसैले भारत र पाकिस्तान अपवाद रहन्नन् । प्रधानमन्त्री मोदीले घोषणा गरेको “रियल प्रोजेक्ट” को पछाडि के हुन सक्छ र कस्तो खालको कदम हुन सक्छ भनेर विश्लेषकहरू दोधारमा रहेको देखिन्छन्।

“रियल प्रोजेक्ट” खास तवरमा दुई ओटा विषयमा केन्द्रित भएको देखिन्छ । आम जनतामा यसको अर्थ भारतले सर्जिकल स्ट्राइकर-३ को शृङ्खलालाई निरन्तरता दिने भन्ने हुन सक्छ, जुन कुरा सत्य होइन । “रियल प्रोजेक्ट” भित्र लुकेको अन्तरबस्तु क्रमशः पहिलो चुनावी रणनीति र दोस्रो चुनावपछि पाकिस्तान विरुद्ध लगिने एक्सन। चुनावी रणनीति अन्तर्गत कम्तीमा पनि चुनाव सम्पन्न नहुन्जेल सम्म पाकिस्तानलाई त्रासमा राख्ने जसले गर्दा सुरक्षाको सवालमा पाकिस्तान आफै बढी नै सजग हुने देखिन्छ। अर्को अर्थमा भन्नु पर्दा, आफू अफेस्न्सिभ अवस्थामा रहने र पाकिस्तानलाई डिफेन्सिभ अवस्थामा रहन बाध्य तुल्याउने रणनीति अहिले भारत संस्थापन पक्षले अवलम्बन गरेको देखिन्छ । अहिले सम्मको रुझान के छ भने भारतको जम्मु र काश्मिर क्षेत्रमा भएका जति पनि हमलाहरू भएका छन् त्यसको दोष सम्पूर्ण रूपमा पाकिस्तानको हिस्सामा पर्ने गर्छ। त्यसैले पनि सुरक्षा सम्बेदनाशिलतालाई पाकिस्तानले बडो महत्त्वका साथ कम्तीमा पनि भारतको चुनाव अवधिभर गम्भीरता पूर्वक लिने छ र उक्त आरोपबाट मुक्त रहने प्रयासरत हुनेछ पाकिस्तान। भारतले सीमा क्षेत्रमा सुरक्षा कडाइ त गर्ने नै भयो। सर्जिकल स्ट्राईक -२ लाई भारतले “पाइलट-प्रोजेक्ट” सफल भएको भन्नुको अर्थ भारतले पिओके क्षेत्रमा आफ्नो लडाकु विमान मार्फत तुरुन्त जवाफ दिन सक्छ भन्ने डर पाकिस्तानलाई दिनु थियो जुन विषय सफलताको रूपमा व्याख्या गरेको छ भारतले। त्यो भय कम्तीमा पनि चुनावी अवधि सम्म कायम राख्न चाहन्छ भारत । जहाँ सम्म पाकिस्तान र भारतको युद्ध या राजनीतिक तनावको विषय छ तब दुवै देशका निम्ति प्रतिष्ठाको विषय बन्ने गर्दछ र कुनै पनि हद पार गर्न दुवै देश तयार रहन्छन्।

अबको चुनावमा मोदीको सबैभन्दा चर्को नारा “सुरक्षित भारत” हुने छ अनि त्यस पछि विकास, गरिब मुक्त भारत लगायत अनेकौँ। सुरक्षित भारत बनाउने सङ्कल्प साकार पार्ने आफू सबै भन्दा सक्षम रहेको भनेर आफ्नो ब्याक्तित्वलाई जनसमक्ष उभ्याउने प्रयत्न गर्ने छन्, किनभने अधिकांश भारतीय जनता विवेक भन्दा भावनामा बढी बग्ने विगतका चुनावका परिणामले देखाएको छ र मोदी भावनाको बेगलाई बगाउन माहिर छन् । दोस्रो कुरा, चुनाव पछि भारतले कम्तीमा पनि कश्मिरमा बारम्बार हुने हमलाको विषयमा संवेदनशील तवरले अन्तर्राष्ट्रिय मञ्चहरूमा जोडतोडले उठाउने छ । चुनाव अगाडी गरेका बाचा, खासगरि, पाकिस्तानलाई धूल चटाउने कुरा र आफ्नो बोल्ड ब्याकित्वको आभाषका खातिर भारतीय संस्थापन पक्षले अप्रत्याशित रूपमा पाकिस्तानको सीमा भित्र कुनै बहानामा हमला गर्ने सम्भावना रहन्छ। यसका पछाडि एउटा तर्क भनेको बोल्ड लिडरको रूपमा आफूलाई दर्शाउनै पर्ने परिस्थिति छ भने अर्को तर्फ वर्तमान संस्थापन पक्ष भित्र प्रभावशाली ब्याक्तिहरुले भारतले अब पाकिस्तानका विरुद्ध डिफेन्सिभ होइन अफ़ेन्सिभ हुनुपर्ने दबाब मोदीलाई निरन्तर दिँदै आइरहेका छन्। भारतीय संस्थापन पक्षको नजरमा आतङ्कवादी सङ्गठनहरूलाई पाकिस्तानले प्रशय दिएर राखेको भन्ने छ तर यो आरोप निराधार हो भनेर प्रत्येक पटक पाकिस्तानी पक्षले जवाफमा दिनु पर्ने बाध्यता जस्तै बन्दै आइरहेको छ। अहिले सम्म जति पनि हमलाहरू भएका छन् ती सबै हमला पाकिस्तानी भूमिबाट भारतको भूमिमा पहिला भएका छन् । त्यसैले अहिले भाजपा भित्रबाट र सरकार निकट विज्ञहरू बाट पाकिस्तानलाई सबक सिकाउनु पर्छ भनेर मोदीलाई तीव्र दबाब दिइरहेका छन् । तर मोदी चुनाव अगावै कुनै पनि यस्तो कदम चालिहाल्ने पक्षमा छैनन्। चुनाव पछि भने मोदीले उपयुक्त समयको पर्खाइमा जरुर हुनेछन्। भाजपाका अध्यक्ष अमित शाहले भारतले मात्र आतङ्कवादको आक्रमण सहनुपर्छ भन्ने कहीँ छ र भनेर प्रश्न गर्ने र वित्त मन्त्री अरुण जेट्लीले अमेरिकाले आतङ्कवादको खिलाफमा इराक र अफगानिस्तानमा गएर हमला गर्न हुने भारतले आफ्नो सुरक्षा निम्ति गर्न नहुने भन्ने खालका अभिव्यक्तिले पनि अहिलेको संस्थापन पक्षका महत्त्वपूर्ण नेताहरूले प्रधानमन्त्री मोदीलाई आवश्यक कारबाहीको निम्ति निरन्तर दबाब दिईरहेका छन् भनेर बुझ्न कठिन छैन।

तर पाकिस्तानका प्रधानमन्त्री ईमरान खानाले बहुतै परिपक्व कूटनीतिक कदम चाल्दै आफूलाई शान्ति प्रेमी नेताको रूपमा उभ्याए। विश्व जगतमा पाकिस्तानी प्रधानमन्त्रीको कदमलाई सकारात्मक र भारतीय पक्षलाई भने आक्रामक ईमेजको रूपमा चित्रण गर्‍यो । पाकिस्तानले मार्च ५ तारिकका दिन आतङ्कवादी समूहमा संग्लग्न मुफ्ती अब्दुर रौफ़ , जो जैस-ए-मोहम्मद का प्रमुख मसुद अजहरका भाइ, सहित ४४ ब्याक्तिहरुलाई पक्राउ गर्दै पाकिस्तान कुनै पनि किसिमको आतङ्कवादी क्रियाकलापमा संग्लग्न नभएको पुष्टि गरेको छ। पाकिस्तानको यो कदम भने भारतको लागि नैतिक प्रश्न बनेर तर्सेको छ।

भारतको लोक सभा निर्वाचनले विश्व जगतक ध्यान अहिले भारतमा केन्द्रित भएको छ। विश्वको सबै भन्दा ठुलो लोकतान्त्रिक अभ्यासकर्ता भारतको उक्त चुनावमा ५४५ सिटका निम्ति २९ राज्य र ७ केंद्रशासित प्रदेश बाट करिब ९०० मिलियन जनताले प्रत्यक्ष मत प्रकट गर्नेछन। अप्रेल ११ तारिकका दिन प्रारम्भ भएर उक्त चुनाव मे महिनाको १९ तारिक सम्म चल्ने छ भने मत गणना भने मे २३ बाट प्रारम्भ हुनेछ। सन् २०१४ मा भएको निर्वाचनमा भाजपाले २८२ सिट सुरक्षित गर्दै भारतमा कुनै पनि दलले ३० वर्ष पछि एकल बहुमत प्राप्त गरेको यो पहिलो रेकर्ड थियो। २०१४ को निर्वाचनमा भाजपाले आर्थिक विकास र रोजगारीको मुद्दालाई केन्द्रबिन्दुमा राख्दै चुनावमा होमिएको थियो तर फेब्रुअरी महिनाको बेरोजगारी दर ७.२ प्रतिशत रहेको छ । सत्ता-विरोधी लहर र तत्कालीन काँग्रेस सरकारले सत्ता सञ्चालन गरिरहँदा भएको भ्रष्टाचारको मुद्दालाई पनि व्यापक मात्रामा उचाल्दा भाजपालाई २०१४ को परिणाम आउन मद्दत पुगेको हो । आसन्न लोकसभा चुनावमा मोदीले पुरानै स्थिति कायम राख्न सफल हुन्छन् या नयाँ प्रकृतिको नतिजा आउँछ, त्यो भने हेर्न बाकि नै छ। तर विभिन्न बुद्धिजीवीहरूको आंकलन हेर्ने हो भने मोदीले दोस्रो ईनिङ्ग सम्हाल्ने लगभग पक्कापक्की नै छन् तर पहिलाको जस्तो मजबुत बहुमतका साथ भने होइन। मोदी सरकारले मुख्यतया विमुद्रीकरण, जीएसटी, राफेल डिल, र किसानको मुद्दा को विषयमा दुवै थरी धारणा सार्वजनिक भएका छन्। विपक्षीहरूले यी मुद्दालाई उचालेर चुनावी मसला बनाएका छन् भने सत्तापक्षले भने यी तिन ओटै विषयमा आफूहरूले सफलता प्राप्त गरेको भनेर दाबी गरिरहेका छन्। चुनाव अगाडी भएको पाकिस्तान सँगको असमझदारी को प्रतिक्रियामा पनि मोदीले मिश्रित प्रतिपुष्टि प्राप्त गरेका छन्। यद्धपि यो विषयले भने मोदीको आकृतिलाई बलियो र जबर्जस्त ढङ्गबाट प्रस्तुत हुने अवसर प्राप्त भएको छ जुन अवसर मोदीले प्रमाणित गरिसकेका छन्। १४ फेब्रुअरीका दिन पुलुवामा मा भएको आतङ्कवादी हमलामा पाकिस्तानको संग्लाग्नता रहेको दाबी गर्दै भारतले काउन्टर हमला गरेको थियो तर ४४ जनाको समूहलाई पक्राउ गर्दै भारतको दावालाई पाकिस्तानले गलत साबित गरी दिएको छ। यति मात्र होइन भारतले काउन्टर हमलामा ३०० भन्दा बढी आतङ्ककारी मारिएको भनेर दावा गरेको विषय पनि पुष्टि हुन सकेको छैन।

पुष्टि नहुँदा अर्को तर्फ मोदीको ईमेजलाई अलिकता भए पनि धक्का पुगेको छ, कारण झुटो दावा पेस गरेको भनेर । चुनाव नितान्त प्राविधिक विषय मात्र नभएर अरू थुप्रो आयामहरू हुने भएकोले मोदीलाई यस्ता अपुष्ट कुरालाई लिएर खासै प्रभाव पर्ने भने देखिने छैन। पछिल्लो क्रममा मोदीले “चौकीदार” भन्ने लेक्सिकन लाई केन्द्रबिन्दुमा राख्दै चुनावी रणनीतिको एउटा महत्त्वपूर्ण हिस्सा बनाएर जनता समक्ष पुर्‍याउने अभियानमा जुटेका छन् जुन एक हदसम्म सफल पनि भएका छन्। यो शब्द भारतको सुरक्षा सम्बन्धी सम्बन्ध राख्ने हुनाले पनि निकै महत्त्वपूर्ण अर्थ पाइराखेको छ अहिलेको चुनावी अभियानमा । यो शब्द चुनावी रणनीतिको बृहत् शब्दकोश भएको छ जसले सुरक्षा लगायत अन्य आयामहरूलाई समेटेको छ। राष्ट्रिय सुरक्षाको विषयलाई केन्द्रबिन्दुमा राख्दै पछिल्लो समयमा पाकिस्तान सँगको असमझदारी लाई जोडिने गरी “चौकीदार” को नारालाई खुल्ला रूपमा बहसको पाटो बनाए पनि चुनाव मा नतिजा हासिल गर्न विभिन्न आयामहरू लाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराले गहिरो अर्थ राख्दछ। त्यसैले, आगामी चुनावमा कुन गठबन्धनले कस्तो नतिजा प्राप्त गर्छ त्यो भने हेर्न बाकि नै छ ।

(लेखक, अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधिका बिधार्थी हुन्)