आरडीटी जाँचको कुनै अर्थ छैन, पैसा खेर नफालौं: जनस्वास्थ्य विज्ञ - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

आरडीटी जाँचको कुनै अर्थ छैन, पैसा खेर नफालौं: जनस्वास्थ्य विज्ञ



डा. रविन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

काठमाडौं-

-कोरोना संक्रमणको लागि नेपालमा गरिएको आरडीटी टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रणपछि गर्ने परिक्षण विधि हो ।

-यो टेस्टले शरीरमा भाइरस छ कि छैन भनेर देखाउँदैन । यसले जाँच गरेको व्यक्तिमा रोगसँग लड्ने एन्टीबडी मात्र देखाउने हो । रोगको प्रकोप सुरु भएको नेपालजस्तो देशको लागि यो परिक्षण गर्नु भनेको हामीले यति हजार वा लाख नागरिकको जाँच गरेका छौं भन्नको लागि मात्र हो ।

-संक्रमण भएको ७, ८ दिनदेखि महिनासम्म यसमा एन्टीबडी देखिन सक्छ । रोग सुरु भएको वा तत्कालै रोग सरेको यो टेस्टबाट थाहा हुँदैन । एक त यो टेस्टका किट गुणस्तरहीन छन् । ३० – ४० प्रशितभन्दा धेरै गलत रिपोर्ट आउँछ । त्यसमा पनि संक्रमण सुरु भएको अवस्थामा यो जाँचको कुनै अर्थ छैन।

-उदाहरणको लागि उदयपुर लगायत ठाउँका दर्जन व्यक्तिहरुमा आरडीटी टेस्टले नेगेटिभ रिजल्ट दिएको थियो । यदि उनीहरुलाई पीसीआर टेस्ट नगरेको भए उनीहरुले सयौं, हजारौं जनालाई यो रोग फैलाउन सक्दथे । सरकारले धेरै जिल्लामा दशौं हजारलाई यो परीक्षण गरिरहेको छ, रिपोर्ट नेगेटिभ आइरहेको छ ।

-यदि आरडीटी टेस्ट पोजिटिभ आयो भने उसलाई पीसीआर टेस्ट गरिएको छ । यो राम्रो पक्ष हो । यसबाट कमसेकम पोजिटिभ देखिएको व्यक्ति सतर्क रहन्छ, पीसीआर टेस्टको अवसर पाउँछ, तर आरडीटीमा नेगेटिभ देखियो भने उ ढुक्क भएर सबैसँग भेटघाट गर्छ र धेरै जनालाई रोग सार्न सक्छ । यो निकै संवेदनशील विषय हो ।

-पीसीआर टेस्टमा सिधै भाइरसको जिन देखिने भएकोले यो विधि विश्वासिलो छ । यसमा संक्रमण भएको सुरुको अवस्थादेखि रोग निको भएको केही दिन पछिसम्म पोजिटिभ देखाउँछ।

-नयाँ रोग फैलिएको बेलामा पीसीआर टेस्ट नै गर्नुपर्छ । घाँटी वा नाकको स्वाब संकलन, त्यसको सुरक्षण, परिवहन र परीक्षण राम्रोसँग गर्यो भने पीसीआर टेस्टबाट ७० प्रतिशत सहि रिपोर्ट आउँछ । नेगेटिभ देखिएका व्यक्तिलाई दोहोर्याएर पीसीआर टेस्ट गर्ने हो भने ९० प्रतिशत रिपोर्ट आउँछ ।

-पीसीआरमा पोजिटिभ देखिएपछि त्यो पोजिटिभ नै हुन्छ, नेगेटिभ देखिएमा मात्र परीक्षण दोहोर्याउन पर्ने हो । अहिले नेपालले जतिसक्यो, पीसीआर मेसिन किन्नुपर्छ । आरडीटी किटमा पैसा खेर फाल्नु जरुरी छैन । युरोप, अमेरिकाजस्ता देशले त कोरोना संक्रमण थेग्न सकेका छैनन् भने नेपालजस्तो स्रोतसाधन, जनशक्ति, आइसीयु, भेन्टिलेटर आदि न्यून भएको देशले संक्रमण थेग्न सक्दैन ।

-तसर्थ भएका आरडीटी किटलाई स्टोरमा राखौं, अर्को वर्ष संक्रमण निर्मूल भयो कि भएन भनेर सर्भे गर्न काम लाग्छ । जति सक्यो पीसीआर मेसिन किनौं, पीसीआर टेस्टको दायरालाई व्यापक बनाऔं । सरकारले मात्र नसके सयौं निजी अस्पताल छन्, तिनीहरुलाई पीसीआर टेस्ट गर्न सहजीकरण गरौँ ।

-कोरोना संक्रमण जित्न पीसीआर परीक्षणको दायरा बढाएर संक्रमित समूहलाई आइसोलेसनमा राखेर उपचार गर्ने तथा स्वस्थ्य व्यक्तिलाई संक्रमितबाट सुरक्षित राख्नुको विकल्प हामीसँग छैन ।