२४औँ पटक भिड्दै दिल्ली र बेंगलोर: यस्तो छ इतिहास, आज के होला ? - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

२४औँ पटक भिड्दै दिल्ली र बेंगलोर: यस्तो छ इतिहास, आज के होला ?



काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ खेल केहीबेरमा हुँदैछ । आजको खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोर जीतका लागि भिड्नेछन् ।

खेल नेपाली समय अनुसार ७ः ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुवै टोली चौथो जित निकाल्दै शीर्षस्थानमा उक्लिने तयारी गरिरहेका छन् ।

दिल्ली र बेंगलोरको समान ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक छ । तर दिल्ली नेट रन रेटका आधारमा दोस्रो र बेंगलोर तेस्रो स्थानमा छ । मुम्बई पाँच खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा छ ।

दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । तर तेस्रो खेलमा सनराइजर्स हैदराबादसँग १५ रनले पराजित हुन पुग्यो । चौथो खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको थियो ।

यता बेंगलोरले पहिलो खेलमा हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा पन्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो । तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको थियो । चौथो खेलमा राजस्थानलाई ८ विकेटले पराजित गरेको थियो । दिल्लीको ब्याटिङ र बलिङ दुबै बलियो छ । बेंगलोरको डेथ ओभर बलिङ केहि कमजोर देखिन्छ ।

दिल्लीका कप्तान श्रेयस ऐर राम्रो लयमा छन् । कोलकाताबिरुद्ध ८८ रनको उत्कृष्ट इनिङ खेलेका थिए । त्यस्तै ओपनर पृथ्वी शाले चेन्नईबिरुद्ध ६४ र कोलकाताबिरुद्ध ६६ रनको अर्ध शतकीय इनिङ खेलेका थिए । ऋषभ पन्त पनि राम्रो लयमा छन् । तल्लोक्रममा मार्कस स्टोइनिस र शिम्रन हेटमायरले उत्कृष्ट अन्त्य गर्दै आएका छन् ।

ओपनर शिखर धवनलाई भने राम्रो प्रर्दशन गर्न आवश्यक छ । कप्तान ऐर, शा, पन्त र हेटमायर बेंगलोरलाई घातक बन्न सक्ने ब्याट्सम्यान हुन् । यी तीन मध्य एक ब्याट्सम्यान क्रिजमा टिक्दा दिल्लीले विशाल योगफल बनाउन सक्छ । पछिल्लो पटक कोलकाताबिरुद्ध २ सय २९ रन बनाएको दिल्लीले बेंगलोरबिरुद्ध पनि त्यस्तै विशाल योगफल बनाउने सोचमा रहने छ ।

यता तीव्र गतिका बलिङमा दक्षिण अफ्रिका एनरिच नोर्टजे र कागिसो रबाडाले उच्च प्रर्दशन गर्दै आएका छन् । यी दुई जोडी दिल्लीका बलिङका प्रमुख हतियार हुन् । भारतीय हर्षल पटेललाई दिल्लीले आजको खेलमा निरन्तरता दिने अनुमान गरिएको छ । हर्षलले कोलकाताबिरुद्ध दुई विकेट लिएका थिए । स्पिनर अमित मिश्रा घाइते बनेका छन् भने रविचन्द्रन आश्विनलाई निरन्तरता पाउने छन् । यसैबीच सन्दीप लामिछानेले खेल्न पाउने सम्भावना पनि छ ।

मार्कस स्टोइनिस पार्टटाइम राम्रो विकल्प हुनेछन् । अमित मिश्रा घाइते भएकाले सुरुवाती चार खेलमा बेन्चमा बसेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आजको खेलमा सम्भावना बलियो बनेको छ ।

बेंगलोर पनि शीर्षस्थानको दौडमा छ । युवा ब्याट्सम्यान देवदत्त पाडिक्कल राम्रो लयमा छन् । खेलेका चार खेल मध्य तीनमा पाडिक्कलले अर्ध शतक प्रहार गरेका छन् । पाडिक्कल टिक्नु दिल्लीका लागि घातक हुन सक्छ । यता राजस्थानबिरुद्ध ७२ रन जोड्दै कप्तान विराट कोहलीले लयमा फर्किएको संकेत दिई सकेका छन् । एबी डिभिलियर्सले पनि आक्रामक रुपमा रन जोड्दै बेंगलोरको जित सहज बनाउँदै आएका छन् ।

यी तीन ब्याट्सम्यान बेंगलोरका प्रमुख हतियार हुन् । स्पिनर युजभेन्द्र चहलले लगातार विकेट लिदै उच्च प्रर्दशन गर्दै आएका छन् । चहल देखि दिल्लीका ब्याट्सम्यान सजग हुन आवश्यक छ । तीव्र गतिको बलरमा नवदीप सैनीले राम्रो प्रर्दशन गरेका छन् । इसुरु उडानाले पछिल्ला दुई खेलमा राम्रो प्रर्दशन गरेका छन् । बेंगलोरको सुरुवाती चार खेलमा डेथ ओभर बलिङ केहि कमजोर देखिएको छ । जसको कारण आज स्पिनर एडम जाम्पाको स्थानमा बेंगलोरले क्रिस मोरिसको सम्भावना देखिन्छ । अन्य टोली परिवर्तनको भने सम्भावना देखिदैन ।

आइपिएलमा यी दुई टोलीबीच कुल २३ खेल भएका छन् । जसमा बेंगलोर १४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । एक खेल नतिजा बिहिन छ । हालसम्म बेंगलोरले दिल्लीबिरुद्ध बनाएको उच्च योगफल २ सय १५ रन छ । सबैभन्दा कम योगफल १ सय ४७ रन छ । यता दिल्लीले बेंगलोरबिरुद्ध हालसम्म बनाएको उच्च योगफल १ सय ९५ रन छ । कम योगफल ९५ रन छ । गतवर्ष दुबै खेलमा दिल्ली ४ विकेट र १६ रनले विजयी भएको थियो ।

श्रेयस ऐर दिल्ली र विराट कोहली बेंगलोरका कप्तान हुन् । दुई उपाधिका दावेदार समूहबीचको खेल निकै रोमान्चक हुने आंकलन गरिएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष दिल्लीले निकै राम्रो प्रदर्शन गर्दै आइरहेको छ भने बेंगलोरले पहिलेभन्दा यो सिजनमा कमजोर प्रदर्शन गर्दै आइरहेको छ ।