कम्युनिस्ट शासनमा विकास र निकास सम्भव छैन: रामचन्द्र पौडेल - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

कम्युनिस्ट शासनमा विकास र निकास सम्भव छैन: रामचन्द्र पौडेल



बेल्जियम — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट एकताको नाममा अराजकता र दण्डहिनता बढ्दै गएको बताउँदै त्यसले लोकतन्त्रलाई धरापमा पारेको बताएका छन् ।

एक सातादेखि युरोपस्थित पार्टीको जनसम्पर्क समितिका कार्यक्रमहरुमा व्यस्त रहेका पौडेलले ठूलो त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई कांग्रेसले गुम्न नदिने बताए ।

‘कम्न्युनिस्ट शासनबाट कहिँकतै विकास र स्थिरिता भएको छैन, नेपाल जस्तो मुलुकमा पनि कम्युनिस्ट शासनबाट समृद्धि सम्भव देखिन्न,’ बेल्जियमस्थित पार्टीका जनसम्पर्क समितिद्वारा आयोजित ‘लोकतान्त्रिक समाजवाद र नेपालको राजनीति’ विषयक अतर्क्रियामा पौडेलले भने,‘कम्युनिस्ट नेतृत्वमा दुई तिहाईको सरकार बनेपनि विकास र समृद्धिको काम अघि बढ्न सकेको छैन ।’

पौडेलले अहिले कांग्रेस केही कमजोर देखिएपनि भविष्यमा ठूलो पार्टी हुने बताए । ‘हामी आफ्ना कमजोरी सच्चाउँदै कांग्रेसको बहुमतको स्थानमा पुर्‍याउँछौं,’ विश्वको जुनसुकै स्थानमा बसेको भएपनि हरेक नेपालीले आफ्नो अधिकार उपयोग गर्न पाउने भन्दै पौडेलले भने,‘एक पटकको नेपाली सधैंको नेपाली ।’

उनले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नेपालमा केही गर्ने सोच रहेको बताउँदै बेल्जियममा रहेका नेपालीले त्यसका लागि आ-आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान समेत गरे ।

कार्यक्रममा बेनेलुक्सका राजदूत लोकबहादुर थापाले नेपालीलाई पर्ने जुनसुकै समस्यामा पनि साथ र सहयोग हुने बताए । बीपीको १०५ औं जन्म जयन्तीका अवसरमा आयोजित अतर्क्रियामा सहभागी कांग्रेसका कार्यकर्ताहरुले पार्टीलाई बलियो र एकतावद्ध बनाउन पौडेलसँग माग गरेका थिए । जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले मुलुकको राजनीतिमा कांग्रेस नै मियो रहेको बताउँदै पार्टी संगठनलाई मजबुत र एकता बनाउन जोड दिइन् ।

जनसम्पर्क समिति बेल्जियमका निवर्तमान अध्यक्ष सुभाष जोशी र वर्तमान अध्यक्ष सापकोटाले पार्टीलाई क्षती पुग्ने गरी जनसम्पर्क समितिले कुनैपनि गतिविधि नगर्ने र युरोपका सबै समितिहरुलाई एक ढिक्का बनाउने दिशामा आफूहरु जुटेको बताए ।