यसरी भताभुङ्ग भयो चुनाव जित्ने र मन्त्री बन्ने टोपबहादुरको सपना - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

यसरी भताभुङ्ग भयो चुनाव जित्ने र मन्त्री बन्ने टोपबहादुरको सपना



काठमाडौं- नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनालकी आमाको निधनमा सोमबार नेकपाका नेता कार्यकर्ता उनलाई श्रद्धान्जली दिन पशुपति आर्यघाटमा जम्मा भएका थिए । सबैको अनुहार मलिन थियो । उपस्थित प्राय प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ता थिए ।

त्यही क्रममा भर्खरै मात्र नेकपाका अध्यक्ष प्रचण्डसँग सम्बन्ध तोडेर केपी ओली गुटमा पुगेर वर्तमान सरकारमा उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री हुन सफल टोपबहादुर रायमाझी अंग रक्षक र सचिवालय सदस्यसहित टुप्लुक्क आर्यघाटमा देखिए ।

मृतक खनालकी आमाको शवमा पुष्पगुच्छा चढाए । अंगरक्षकसहित गएकाले मन्त्री नै त होला भन्ने त आँकलन थियो । तर मास्क लगएकाले र भर्खर मात्र मूल पार्टी छोडेर लाभको पद खान
ओली गुटमा गएकाले पनि होला उनलाई खासै कसैले चासो दिएनन् । खनालका ५ भाई आमाको शवको वरिपरि उभिएका थिए । त्यसैले पनि उनलाई न कसैले अभिवादन गरे न त कसैले हाल नै मिलाए । रायमाझिले एकछिन पुलुपुलु चारै तिर नजर डुलाए ।

पछाडिपट्टि उनका पूर्व सहकर्मी एवं पूर्व उर्जामन्त्री वर्षमान पुनलाई देखे । मास्क लगाएको भए पनि पुनलाई चिन्न उनलाई कुनै कठिनाई भएन । उनी पुनको नजिकै गए । पुनले ओली ग्याङमा पुगेर मन्त्री खान सफल भएकोमा देखावटी बधाई दिए । रायमाझिले पनि बधाई स्वीकार्दै धन्यवाद फर्काए । केहीबेर पूर्व र वर्तमान उर्जामन्त्रीबीच अनौपचारिक भलाकुसारी भयो ।

पुनः जेहोस् उर्जा मन्त्रालय लुम्बिनी प्रदेशबाट बाहिर गएको छैन।
रायमाझीः
जान दिन पनि त भएन नि ।
पुनः
जिम्मेवारी सम्हालिसक्नु भयो ?
रायमाझीः
हजुर, हिजो (आइतबार) देखि ।
पुनः
ल राम्रो गर्नुहोला ।
रायमाझीः
खै यस्तो अवस्थामा के राम्रो गर्नु छ र । दुइ नेकपा एक नभएसम्म फेरी चुनाव जितिन्न । न फेरी मन्त्री हुन पाइन्छ । त्यसैले पाएको बेलामा किन छोड्नु भनेर मन्त्री खाइयो ।

उनको यो कुराले उनी ओलीको टिममा रहेर चुनाव जित्नेमा एक रति पनि ढुक्क छैनन् । उनी २०७४ सालको प्रतिनिधिसभा चुनावमा अर्घाखाँचीबाट ५०३८३ मत ल्याएर विजयी भएका थिए ।
नेपाली कांग्रेसका रामबहादुर बिसीलाई १८४४४ मतले पछि पारेका रायमाझीको अव चुनाव जित्ने सपना सकिएको उनकै कुराले पुष्टि गर्छ । बिसीले त्यति बेला ३१९४१ मत ल्याएका थिए ।

रायमाझी तिनै व्यक्ति हुन जो यसअघि केपी शर्मा ओली नेतृत्वमा उपप्रधानमन्त्री भएका थिए । तर अहिले भने उपप्रधानमन्त्रीविनै मन्त्री मात्र हुन तयार भए । मन्त्रीको लोभमा जनयुद्धमा होमिएको आफ्नै माउ पार्टी त्यागेर ओली नेतृत्वको नेकपामा लाग्दा नेकपा माझमा र जिल्लामा उनको चर्को आलोचना भएको छ ।

गत शनिवार नेकपा अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा उनलाई आमन्त्रण गरियो । उनी सहभागि पनि भए । तर न कसैले उनलाई बधाई दिए । न त खादा ओढाएर सम्मान नै गरे । उनलाई चुनाव जिताउने पार्टी नेता कार्यकर्तामा देखिएको त्यो नैरास्यताले पनि होला रायमाझिलाई फेरी चुनाव जित्ने र मन्त्री हुने आश मरिसकेको छ ।