रायमाझीको प्रश्न: प्रधानमन्त्री ओलीको मानसिक सन्तुलन गुमेको हो र ? - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

रायमाझीको प्रश्न: प्रधानमन्त्री ओलीको मानसिक सन्तुलन गुमेको हो र ?



काठमाडौं- नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्रीको मानसिक स्वास्थ्य अवस्थाबारे प्रश्न गरेका छन् ।

राष्ट्रियसभाको हिउँदे अधिवेशनको दोस्रो बैठकमा बोल्दै रायमाझीले प्रधानमन्त्रीले संविधान पढ्न नजानेको भन्दै मानसिक सन्तुलन गुमेको भन्न मिल्ने कि नमिल्ने प्रश्न उठाएका हुन् ।

आक्रोशितरुपमा प्रस्तुत भएका उनले भने, ‘एउटा प्रधानमन्त्री हुनको लागि योग्यता चाहिन्छ। पहिलो प्रतिनिधिसभाको सदस्य चाहिन्छ, दोस्रो बहुमत सदस्यको समर्थन हुनुपर्छ तेस्रो मानसिक सन्तुलन ठिक हुनुपर्छ ।’

उनले प्रश्न गरे, ‘उहाँलाई अहिले प्रधानमन्त्री भन्ने कि नभन्ने? उहाँ आफैँ अहिले प्रतिनिधिसभाको सदस्य हुनुहुन्न। असंवैधानिक काम गर्ने मान्छे यो मुलुकको प्रधानमन्त्री हुन पाउँछ कि पाउँदैन? मानसिक सन्तुलन गुमेको भन्न मिल्छ कि मिल्दैन?’ उनले प्रधानमन्त्री ओलीले संविधान नपढेको आरोप लगाउँदै राष्ट्रियसभाका अध्यक्षमार्फत संविधान बुझाउने पनि बताए।

उनले आफूले नजाने सल्लाहकारबाट संविधानबारे जानकारी लिन आग्रह गरे । उनले भने, ‘हाम्रो प्रधानमन्त्रीले संविधान पढ्न जान्नुभएन भने अंग्रेजीमा पनि लेखिएको छ। गुगलमा छ। त्यो उहाँका सल्लाहकारहरूले जान्नुहोला ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्बोधन गरेर पनि प्रश्न गरे । उनले सोधे, ‘तपाईं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष हो ? राष्ट्रपतिका कारण महिलाहरू अक्षम हुन् कि भन्ने प्रश्न उठेको छ ।’