प्रधानमन्त्री ओलीले एक पद छाड्न तयार रहेको टोपबहादुरको खुलासा - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

प्रधानमन्त्री ओलीले एक पद छाड्न तयार रहेको टोपबहादुरको खुलासा



काठमाडौं- ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा पद छाड्न तयार रहेको खुलासा गरेका छन् । उनले ओलीले एक पद छाड्न तयार रहेकै बेला प्रचण्ड-नेपाल समुह बढी आक्रामक भएको आरोप समेत लगाए ।

आइतबार रुपन्देहीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले ओलीले एउटा पद छाड्न तयार रहेको बेला प्रचण्ड–नेपाल समूहले ओलीलाई दुवै पदबाट हटाउन खोजेका कारण समस्या आएको बताएका हुन्।

पार्टी एकताका लागि प्रधानमन्त्री ओली लचक भएर एक पद छाड्न तयार भए पनि दुवै पद मागेका कारण समस्या भएको रायमाझीले बताएका थिए ।

‘सम्माननीय प्रधानमन्त्री ओलीले एउटा पद छोड्नु हुन्थ्यो, मिल्नका लागि लचकता अपनाउनु भएको थियो’, उनले भने, ‘हामीलाई थाहा छ, हामीले पहल गरेका थियौँ, तर उहाँहरुलाई अध्यक्ष र प्रधानमन्त्री दुवै चाहियो।’

उनले प्रचण्डले प्रधानमन्त्री र माधव नेपालले अध्यक्ष माग्दै हिँड्नुको कुनै तुक नभएकाे बताएका छन्। मन्त्री रायमाझीले प्रचण्ड–नेपालले पद माग्दै सडकमा झरेको र जनतामा जान अझै बाँकी रहेको बताए।

उनले एकताको क्रममा ओली पहिलो र प्रचण्ड दोस्रो अध्यक्ष भएको र ओली संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन भएको बताए।

उनले प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी चलाउने सहमतिविपरीत अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा आँखा लगाएको आरोप लगाए। ‘प्रचण्डको नजर पार्टीको भूमिकामा होइन सधैँ प्रधानमन्त्रीमाथि पर्‍यो’, उनले भने।