ओली समूहमा गएलगत्तै रावलले पाए नयाँ जिम्मेवारी
काठमाडौं- नाटकीय रूपमा एमालेको मध्यमार्गी समूह एमालेमा समाहित भएपछि नेता भीम रावलले ओली समूहमा नयाँ जिम्मेवारी पाएका छन् । अध्यक्ष ओलीले आफ्नो समुहमा रहने पक्का भएपछि रावललाई नयाँ जिम्मेवारी दिएका हुन् । रावल यसअघि अध्यक्ष ओलीका कट्टर आलोचक थिए । एक समय रावलले ओलीलाई राष्ट्रघाती करार नै गरेका थिए ।
अहिले तिनै रावल ओली समूहमा समाहित भएपछि ओलीले नयाँ जिम्मेवारी दिएका हुन्। रावलले एमाले एकता बचाउने सम्बन्धी खाका बनाउने जिम्मा पाएका छन् । यसअघि ओलीले यस्तो जिम्मेवारी आफ्ना विश्वासपत्रलाई मात्र दिने गरेका थिए । अहिले पनि खाका तयार गर्ने जिम्मा पाउनेमा रावलबाहेक ओलीकै थप दुई विश्वासपात्र छन् । त्यसमा रावल, ईश्वर पोखरेल र विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ ।
एमालेका तीन नेता अहिले एकता कसरी गर्ने भन्ने खाका बनाउन लागिपर्ने भएका छन् । सोमबार बिहान अध्यक्ष ओलीको निजि निवासमा भएको लामो छलफलमा माधवकुमार नेपाल छाडेर आएका नेताहरुलाई उचित जिम्मेवारी दिने ओलीले बचन दिएका थिए ।
नेकपा एमाले छाडेर निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाललाई छाडेर तटस्थ बसेका स्थायी कमिटीका ९ जनाले आज विहान एमाले अध्यक्ष ओलीलाई भेटेका थिए । उनीहरुले यसअघि एमाले कार्यदलले प्रस्ताव गरेका १० बुँदे सहमति कार्यन्वयन गर्न ओलीलाई अल्टिमेटम दिएका थिए ।
बालकोटस्थित ओली निवासमा भएको बैठकमा नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालले नयाँ दल दर्ता गरेर गम्भीर गल्ती गरेको बताएकी थिइन् । बैठकमा घनश्याम भुसाल, योगेश भट्टराई, भीम रावल, युवराज ज्ञवालीलगायत नेताहरु पनि सहभागी थिए ।
कार्यदलको सहमति बाहेक उनीहरूले १४ जना सांसदमाथि गरेको कारबाही फिर्ता लिनुपर्ने बताएका थिए ।यही बैठकपछि भोलिका लागि नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । यो बैठकमा नेकपा एमालेमा तटस्थ रहेका स्थायी कमिटी सदस्यहरु पनि सहभागी हुने भएका छन् ।
भोलिको स्थायी कमिटी बैठकले एमालेको एकताका लागि र त्यसको खाका बनाउनका लागि एउटा कार्यदल बनाउने बताइएको छ।