भीम रावलले गरे नेकपाभित्र अनिष्टको संकेत
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले कर्णाली प्रदेशको घटनाले पार्टीभित्र अनिष्टको संकेत देखिएको बताएका छन् ।
उनले पार्टी एकताको काम नसकिंदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अश्विासको प्रस्ताव दर्ता हुनु दुःखद भएको बताएका छन् ।
सोमबार ट्वीटमार्फत नेता रावलले पार्टीको नीतिविपरित सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत भएको बताए ।
नेता रावलले नेकपा स्थायी समितिको बैठकले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको स्मरण गरेका छन् ।
‘नेकपा,स्थायी समितिले विधि र पद्धतिमा जोड दिदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो’, उनले भनेका छन्, ‘निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री विरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ । समयमै नेतृत्वको गम्भीर ध्यान जाओस् । देशहित ठूलो हो ।’
कर्णाली प्रदेशका १८ जना सांसदले आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । नेकपाबाट कर्णाली प्रदेशको प्रदेशसभामा ३३ जना सांसद छन् ।