थप संकटमा भीम रावल: लेखराज सुटुक्क पुगे कैलाली - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

थप संकटमा भीम रावल: लेखराज सुटुक्क पुगे कैलाली



काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल अर्को तनावमा परेका छन् । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली पुगेपछि रावल थप तनावमा देखिएका छन् । आइतबार बिहान बालकोटमा बोलाएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी थप जिम्मेवारी नदिने बताएपछि संकटमा परेका रावल भट्टको सक्रियताले तनावमा परेका छन् ।

रावलको स्थानमा ओलीले भट्टलाई इन्चार्ज बनाएपछि पार्टी नै छाड्नेसम्मको मनस्थिति बनाएका रावलले निकट नेताहरूसँग समेत छलफल र परामर्श थालेका छन् । रावललाई समेत थाहा नदिएर भट्ट जिल्लामा सक्रिय हुन थालेपछि रावल थप सशंकित हुन थालेको निकट नेताहरूले बताउन थालेका छन् ।

सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयलाई लिएर रावलसँग विवाद चलिरहेकै बेला भट्ट कैलाली पुगेर पार्टीका गतिबिधि सुरू गरेका छन् । कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधिसँग भेटघात तिब्र पारेका छन् । केहिदिन गृहजिल्लामै रहनेगरी त्यहाँ पुगेका भट्ट तालिका नै बनाएर खटिएको बताइएको छ।

मंगलबार कञ्चनपुरको सुख्खा बन्दरगाहका बारेमा छलफल गर्नेगरी तयारी गरिरहेका भट्ट बुधबार कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजका बारेमा छलफल गर्ने बताइएको छ । ब्यस्त तालिका बनाएर भट्ट खटेपछि रावल तनावमा पर्नु स्वाभाविक भएको एक नेताले बताए । एकातिर जनप्रतिनिधिलाई एमालेमै रोक्न नसकेको भन्दै एमालेमै आलोचित हुँदै गएका रावल अर्कातिर भट्ट सक्रिय बनेपछि संकटमा परेका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जकै रुपमा लेखराज कैलाली पुगेर सक्रिय बनेका छन् । यता रावलले १० बुँदे सहमति कार्यान्वयन नभए एमालेमा रहन नसक्ने स्थिती आउने बताएका छन् । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट भएको बताएपछि रावलले १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् ।

आइतबार ओली निवास बालकोटबाट फर्किएपछि रावल एमाले दलको बैठकमा समेत गएका थिएनन् । प्रतिनिधिसभा बैठक पछि सिंहदरबारमा आफू निकटका नेता सँग १० बूँदे सहमति कार्यान्वयनमा चुनौती थपिएको बताएका थिए । सिंहदरबारमा प्रतिनिधिसभा सदस्य झपट रावल र एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीसँग रावलले १० बुँदे सहमति कार्यान्वयन आवश्यक रहेको र उक्त सहमति कार्यान्वयन नभए समस्या हुने बताएका हुन् ।

जोशी एमालेमा विवाद हुँदा रावलले गठन गरेको समानान्तर कमिटीको सुदूरपश्चिम अध्यक्ष थिए । सिंहदरबारभित्रै भएको छलफलमा रावलले आइतबार बिहान ओली निवासमा भएको छलफलबारे जानकारी गराएका थिए । उनले अध्यक्ष ओलीले सुदूरपश्चिममा भट्टलाई इन्चार्ज बनाउन चाहेको भन्दै १० बुँदे कार्यान्वयन नभए एमाले भित्रै रहेकाहरू पनि नरहने आशय व्यक्त गरेका थिए ।