यस्तो रहेछ रावलले एकाएक राजीनामा दिनुको कारण - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

यस्तो रहेछ रावलले एकाएक राजीनामा दिनुको कारण



काठमाडौं- पछिल्लो समय एमालेका वरिष्ठ नेता माधव नेपालको साथ छाडेर ओली समुहमा लागेको भनिएका एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट एकाएक राजीनामा दिएका छन्।

कतिपय संचारमाध्यमले रावलले विदेशी गुप्तचर संस्थाका प्रतिनिधिसंग भेटघाट गरिरहेको समेत चर्चा गरेका थिए । नेपाल समूह छाडेको चर्चापछी विवादित बनेका रावल पछिल्लो समय संकटमा देखिएका थिए ।

पहिला कट्टर रूपमा ओलीको विरुद्धमा उभिएर ओलीसंग कुनै पनि हालतमा पार्टी एकता गर्न नहुने बताएका रावल एकाएक ओली नजिक बन्नुलाई अर्थपूर्ण मानिएको थियो ।

राजिनामा दिएपछि भने उनले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी एकता गर्न बनाइएको कार्यदलको १० बुँदे सहमति कार्यान्वयन गर्न उनी लागिपरेका थिए।

तर आफ्नै पक्षबाट असहयोग पाएको भन्दै उनी रुष्ट देखिएका थिए। संसदमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन्। पार्टीको निर्णयबमोजिम देउवालाई विश्वासको मत दिनुभन्दा उनले राजीनामा उपयुक्त देखेको बताएका हुन्।

तर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर गरेर अदालतसम्म उपस्थित भएका रावलले एकाएक राजिनामा दिनुलाई रहस्यमय मानिएको छ ।

रावलले भने राजिनामा दिनुको कारण आफ्नै पार्टीका नेताहरू भएको उल्लेख गरेका छन् । सभामुखलाई बुझाएको राजीनामामा उनले आफ्नै नेताहरूको सत्ता लिप्सालाई मुख्य कारण भनेका छन् ।

यस्तो छ रावलको राजीनामाको पूर्णपाठ

सम्माननीय सभामुख ज्यु, प्रतिनिधि सभा सिंहदरबार काठमाडौँ ।

विषय राजीनामा

महोदय, झन्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौँ राजनीतिक आरोह अवरोह तथा घात प्रतिघात व्यहोरेको छु । र तिनको सामना गर्दै आएको छु । यो सबै मैले मातृभूमिको स्वाधीनता, स्वतन्त्रताका लागि गरेको थिए । तर राजनीतिक नेतृत्वको त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौँ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने किर्ते काम हुँदै गए ।

फलस्वरूप आज नेपाल र नेपालीहरूको शिर निहुरिँदै गएको छ । अझ केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पदलिप्सा तथा विधि र पद्धतिलाई आफ्नो उचित एवं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी र निरंकुश तरिकाले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा, देशभक्त र लोकतन्त्र प्रेमी नेपालीको मन रुन्छ । यस्ता विकृत तथा देश र जनताका हितविपरितका क्रियाकलापका विरुद्ध जुध्दै रोक्नका लागि जनप्रतिनिधि एवं राजनीतिक कर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरेँ।

तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनर्स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हित भन्दा निजी स्वार्थ अहम्, प्रतिशोध चरित्र र कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झने जुनसुकै नागरिकको मनमा घृणा उत्पन्न हुन्छ । यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।

भीमबहादुर रावल सदस्य प्रतिनिधि सभा