ओलीले ल्याएको प्रस्ताव हो, भीम रावलले ओलीलाई राष्ट्रघाती भन्न हिम्मत गर्नुपर्छ : गगन थापा - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

ओलीले ल्याएको प्रस्ताव हो, भीम रावलले ओलीलाई राष्ट्रघाती भन्न हिम्मत गर्नुपर्छ : गगन थापा



काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसीलाई राष्ट्रघाती भन्ने भीम रावलले केपी ओलीको विरोधमा नाराबाजी गर्ने हिम्मत देखाउनुपर्ने बताएका छन्।

‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पारित गरेको प्रस्ताव आज टेबुल भएको छ,’ प्रतिनिधिसभा बैठकपछि संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने,‘यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने सबैभन्दा पहिले भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती हो भनेर संसदभित्र नारा लगाउने हिम्मत देखाउनुपर्छ। यो प्रस्ताव राष्ट्रघाती हो भनेर भन्ने हो भने पुष्पकमल दाहाल राष्ट्रघाती हो माओवादीका सांसदले नारा लगाउनुपर्छ। र, माधव नेपाल मुर्दाबाद एकीकृत समाजवादीका सांसदहरूले नारा लगाउनुपर्छ।’

अवरोधकाबीचमा संसद चल्ने नचल्ने द्विविधा पनि आजबाट टुंगिएको उनले बताए।

हामीलाई त्यही एउटा कुराको डर थियो। आजको संसदमा एमालेका सांसदले भाग लिनुभयो, नेमकिपा, जनमोर्चा र माओवादी सबै पार्टीले भाग लिइसकेपछि १२ गतेबाट प्रस्तावबारे सामान्य छलफल प्रारम्भ हुन्छ,’ उनले भने।

नाराबाजीका बीच पनि छलफल हुन्छ भन्ने कुरा नाराबाजी गर्नेहरूले नै भाग लिएर आज पुष्टि गरिसकेको बताउँदै थापाले अन्य विधेयकजस्तै एमसिसी प्रस्ताव पनि मतदानमा जाने जिकिर गरे।

‘हिजो आफैं सरकारमा हुँदा तयार गरेको प्रस्ताव आज शेरबहादुर देउवाले पेश गर्दा सबै सांसदहरू यहाँ उपस्थित भएर पक्ष वा विपक्षमा मतदान गर्ने प्रश्न पनि आउँछ,’ उनले भने,‘सरकारमा पनि बस्ने अनि सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने कुरा राजनैतिक नैतिकताको प्रश्न पनि होला। जनतालाई जवाफ दिने कुरा पनि होला।’

थापाले राजनीतिक दलहरूले दोहोरो भूमिका छोड्नुपर्नेमा जोड दिएका छन्। ‘सबैले अब डबल स्ट्यान्डर छोड्नुपर्छ। पक्षमा हो भने पक्षमा विपक्षमा हो भने विपक्षमा प्रष्ट हुनुप¥यो,’ उनले भने,‘आधाले पक्षमा र आधाले विपक्षमा मतदान गर्ने कुरा मिलेन।’
उनले एमालेका साथै सरकारमा सहभागी माओवादी र एकीकृत समाजवादीलाई पक्षमा मतदान गर्न आग्रह गरिने बताए।

थापाले टेबुल भैसकेपछि संसदबाट एमसिसी पास हुनेमा विश्वास व्यक्त गरेका छन्।
‘आज टेबुल गर्ने ठाउँमा आइसकेका साथीहरू भोलि मतदान गर्ने ठाउँसम्म आइपूग्नु हुन्छ,’ उनले भने,‘संसदबाट पास हुन्छ मलाई विश्वास छ।’