भीम रावलको चटक: ओलीको निर्देशनमा राजीनामाको 'फण्डा' - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

भीम रावलको चटक: ओलीको निर्देशनमा राजीनामाको ‘फण्डा’



काठमाडौं- आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा एकाएक विश्वासको मत लिने सुचना सार्वजनिक भएपछि केपी ओली निवास बालकोटमा सानोतिनो भुईंचालो नै गयो । विश्वासको मत सुन्नेबित्तिकै ओली निकट र माधव नेपाल समुहबाट ओली समुहमा जाने तयारी गरिरहेका केहि नेताहरू एमाले विभाजनका लागि भएको षडयन्त्र भन्दै भट्याउन थाले ।

देउवाको विश्वासको मत रोक्न बिहानदेखि साँझसम्म भएका गतिविधिहरू हेर्न लायक थिए । पहिले माधव नेपाललाई ओलीसंग छुट्न बाध्य पार्ने केहि नेताहरूले बालकोटको भाषा बोल्न सुरू गरिसकेका थिए । माधव नेपाल लगायतका नेताहरूको विश्वासको मत रोक्न केहि नेताहरूलाई परिचालन गरियो । स्रोतका अनुसार विश्वासको मत नदिन माधव नेपाललाई अनेक प्रलोभन समेत आए । नेताहरूको अथक प्रयास पनि खेर गयो।

केहि गरेर नहुने भएपछि एमाले उपाध्यक्ष भीमबहादुर रावलले सञ्चारकर्मीहरुमाझ दिएको राजीमानाको अस्त्रलाई प्रयोग गरियो । माधव नेपाल समुहलाई धर्मसंकटमा पार्ने भन्दै गरिएको त्यो चटक रावलका लागि झनै प्रत्युत्पादक बन्यो । एकातिर कार्यसलाको संयोजक अर्कातिर नेपाल समुहको विशेष नेता भनेर उनलाई राजीनामा दिएर नेपाल समूह रोक्न खोजेपनि त्यो चालबाजी कोटेश्वरले मेसो पाइसकेको थियो ।

सोमबारको एमाले केन्द्रीय कमिटिको बैठकमा रावलको राजीनामाबारे ओलीले लामो चर्चा गरेका थिए । ओलीले रावलको राजनीतिक भविष्यको समेत चिन्ता ब्यक्त गर्दै राजीनामा फिर्ता लिन आग्रह समेत गरे । हिजोसम्म बिहीम रावल जस्तो हुल्लड नेता भन्ने ओलीले गरेको त्यो चिन्ता पनि सुन्न लायक थियो ।

एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओली निवासमा भएको डिजाइन अनुसार रावलले एकाएक राजीनामाको चटक संसद भवन अगाडी देखाईरहँदा उनलाई सामाजिक संजालमा गालीको वर्षा हुन थालिसकेको थियो । पत्रकारका अगाडी उभिएर सांसद पदबाटै राजीनामा दिएको निवेदन पढेर सुनाउँदै रावलले फोहोरी राजनीतिको कुरा समेत गर्न भ्याए । राजनीतिलाई सबैभन्दा विकृत बनाउन रावलले दिएको योगदान पनि कम थिएन । तर उनले त राजीनामा दिँदै दुधले नुहाएको राजनीतिज्ञ बन्न खोजे ।

सधैभरी केपी ओलीको उग्र विरोधमा उत्रने रावलले नै माधव नेपाल समुहका नेताहरूलाई ओलीसँग मिल्नै नहुने बताउँथे । नेताहरूलाई उचालेर पार्टी विभाजनको कागजात समेत तयार पारेका थिए उनले । दिनको एक पटक ओलीको विरोधमा ट्वीट नगरे खाना समेत नरुच्ने रावल एकाएक ओलीनिकट हुनुमा त्यस वरीपरी अस्वाभाविक घटनाक्रमहरू घटेका थिए । जसमा रावलले ओलीसंग बालुवाटारमा मध्यरातमा गोप्य भेट गरेकादेखि ललितपुरको होटलमा विदेशी गुप्तचरसँग भेटेकोसम्म चर्चा छन् ।

पहिले केपी प्रवृत्तिविरुद्ध उग्र विरोधि रावल अहिले ‘यु टर्न’हुनुका पछाडी के घटनाक्रम थिए अर्कोपल्ट चर्चा गर्नेछौँ तर पछिल्लो पटक कार्यदलका सदस्यलाई समेत थाहा नदिएर एक्लै तत्कालीन प्रधानमन्त्री ओलीसँग बालुवाटारमा लगातार भेटेपछि उनीमा आएको अस्वाभाविक परिवर्तन चर्चायोग्य छ ।

रावलका अभिव्यक्ति र गतिविधिलाई नजिकबाट नियालेका नेताहरूले रावल अर्कै युजनामा लागेकोसम्म बताउन थालेका छन् । बालकोटको डिजाइन अनुसार रावललाई दिइएको जिम्मा थियो विश्वासको मत रोक्ने । विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने योजनामा नेपाल समुहका अन्य नेताहरू सहमत नहुने देखिएपछि रावललाई हठात राजीनामा गर्न लगाएर नेपाल समुहलाई नैतिक संकटमा पार्ने योजना बनेको थियो । त्यहि योजना अनुसार रावलले नेतृत्वको विकृत राजनीति भन्न भ्याए त्यो पनि राजनितिलाई विकृत बनाउन आफैले गरेको केहि योगदान बिर्सिएर ।

यसअघि मेघा पार्टी प्यालेस कलँकीमा नेपालसमुहका नेताहरुको भेला हुँदा अलग पार्टी घोषणा गरेर जानुको विकल्प नभएको बताउने रावलले नै दवाव सृजना गरेका थिए । नयाँ पार्टी गठनका निम्ति रावलले विधानसमेत बनाएका थिए । पाँच दलीय गठबन्धनका कागजात समेत बनाएका तिनै भिम रावलले विश्वासको मत रोक्न गरेका दिनभरीका योजना पनि रोचक छन् ।