भीम रावलले अस्विकार गरे दसैं भत्ता - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

भीम रावलले अस्विकार गरे दसैं भत्ता



काठमाडौँ- नेकपा स्थायी कमिटिसदस्य तथा सांसद भीम रावलले दसैं भत्तावापत आएको रकम अस्विकार गरेका छन् । उनले आफ्नो खाताबाट दसैं भत्तावापत आएको रकम कट्टा गर्न आग्रह समेत गरेका छन् ।

ट्विटरमार्फत् उनले संसद सचिवालयले सांसदको पारिश्रमिकका रूपमा जम्मा भएको रकमबाट दसैं भत्तावापत आएको रकम कट्टा गर्नका लागि आफूले समर्थन जनाएको लेखेका छन् ।

सांसद रावलले लेखेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

संघीय संसद सचिवालयबाट सांसदहरूले दसैं भत्तावापत एक महिनाको पारिश्रमिक बराबर रकम प्राप्त गरेका हुन् । सांसदले प्रत्येक महिना ६४ हजार ७० रुपैयाँ प्राप्त गर्छन् । प्रत्येक सांसदलाई अधिकृत सरहको सुविधा पाउनेगरी एक जना स्वकीय सचिव राख्न पाउने सुविधा छ । सांसदका स्वकीय सचिवलाई पनि दसैं भत्ता दिइएको छ ।

सांसद रावलले दसैं भत्ता फिर्ता गर्ने सामाजिक सञ्जालबाट घोषणा गरे पनि संसद सचिवालयलाई निवेदन भने दिएका छैनन् । सांसदहरूले औपचारिक रूपमा निवेदन दिएमा दसैं खर्च वापतको रकम फिर्ता गरिदिने संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार असोज महिनाको तलब जानुपहिला भने सांसदहरूले चासो राख्ने गरेका थिए । सांसदहरूलाई २०७६ सालदेखि दसैं भत्ताको व्यवस्था गरिएको हो । त्यसपहिला उक्त व्यवस्था थिएन ।

मन्त्रिपरिषद्ले निर्णय गरेर सांसदहरूलाई दसैं भत्ता दिन लागिएको हो । मन्त्रिपरिषद् वा अन्य निकायबाट सांसदहरूलाई दसैं भत्ता नदिनू भन्ने निर्णय नआएकाले दसैं भत्ता सांसदहरूको खातामा जम्मा गरिएको बताइएको छ ।

संघीय संसदका साथै विभिन्न प्रदेश सभाका सदस्यहरुलाई पनि दसैं भत्ताको व्यवस्था गरिएको छ । जनप्रतिनिधिले दसैं भत्ता लिएको भन्दै आलोचना पनि भइरहेको छ ।