भीम रावलको ओलीसँग छुट्टै बार्गेनिङ
काठमाडौं- विभाजनपछि नेकपा एमालेमा गजबका दृश्य देखिन थालेका छन् । उच्च नैतिकता र आदर्श सहितका नेताहरू भनेर चिनिएका नेताहरू पनि एकाएक अस्वाभाविक ब्यबहार देखाउन थालेका छन्। केहि नेताहरूले दुबैतिर विभिन्न खाले बार्गेनिङ गरिरहेको चर्चा चल्न थालेको छ।
केपी ओलीको चर्को आलोचना गरेर नथाक्ने पार्टीका उपाध्यक्ष भीम रावल समेत अन्तिम समयमा ओलीतिरै मोडिएपछि उनले पनि अनेक खालका बार्गेनिङ गरिरहेको बुझिएको छ । रावलले आउँदो महाधिवेशनमा नेतृत्व छोडेर आफूलाई सहयोग गरेको खण्डमा अहिले आफू ओली समूहमै रहने बताएको बुझिएको छ ।
कतिपय नेताहरूले उनलाई पद नपाएर ओलीको विरोध गरेको उतिबेलै आरोप लगाउने गरेका थिए । अहिले रावलले त्यहि आरोप पुष्टि हुनेगरी बार्गेनिङ गरिरहेको खुलेको छ । उनी माधव समुहबाट एकाएक ओली समुहमा आउँदा पनि यस्तै केहि सम्झौता भएको हुनुपर्ने नेताहरूले बताउने गरेका छन् ।
रावल लगायतका माधव नेपाललाई साथ् नदिएका नेताहरूले आगामी महाधिवेशनमा ओलीले नेतृत्व हस्तान्तरण गर्ने शर्तमा आफूहरू एमालेमै रहने बताएको बुझिएको छ । रावल लगायतका नेताहरूले ओलीलाई एक नेता मार्फत यस्तो संदेश पठाएका थिए । तर ओलीले भने बिचमा बसेर बार्गेनिङ गर्ने काम नगर्न उनीहरूलाई सुझाव दिएका छन् ।
यसअघि पनि उनीहरूलाई आफ्नो कित्ता रोज्न सबैलाई स्वतन्त्रता रहेको भन्दै दबाब नदिन ओलीले आग्रह गर्दै आएका थिए । गत साता मंगलवार शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याएपछि एमालेमा दुई कित्तामा बार्गेनिङ गर्ने नेताहरूको संख्या बढेको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेशमा कुनै पनि राजनीतिक दलको केन्द्रीय समिति या संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर विभाजन गर्न सकिने प्रावधान राखिएपछि त्यसको भोलिपल्टै एमालेको नेपाल समूहले ९५ केन्द्रीय समिति र ३१ संघीय संसदका सदस्यहरूसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोग पुग्यो ।
तर एकता बचाउने भन्दै यसअघि नेता नेपाललाई साथ दिएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, अृमतकुमार बोहरा र रघुजी पन्तलगायतका नेताहरूले नयाँ दल दर्तामा साथ दिएनन् । उनीहरूले एमालेको एकता अझै सम्भव छ भन्दै छलफल गरिरहेका छन् ।
एकता प्रक्रियामै लागेका एक नेता भन्छन् – ‘अध्यक्ष एकताप्रति त्यति धेरै गम्भीर नभएको पाएका छौं । हामीले १४ जना सांसदमाथि गरिएको कारवाही फिर्ता गर्न भन्दै गरेको आग्रहलाई उहाँले तमासा भनिदिनु भएको छ । ओलीले दश बुँदे सहमति लागू नगर्ने हो भने एमालेमा अर्को विद्रोह अवश्यम्भावी छ ।’
नयाँ दल दर्ताबाट नेपाल पछि हट्नुपर्ने र १४ सांसदहरूमाथि ओलीको गरेको कारवाही फिर्ता लिनुपर्ने उनीहरूको माग छ । अन्तिम समयमा नेता नेपालको साथ छोडेका उनीहरू दुवैतिर बार्गेनिङमा रहेको चर्चा चलिरहेको छ ।
दश बुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता माग गरेपनि रावल नेतृत्वको उक्त समूहले आगामी महाधिवेशनमा कुनै पनि हालतमा ओलीले नेतृत्वको दाबी छोड्नुपर्ने मागसमेत ओलीसमक्ष राख्ने गरेको स्रोतले दाबी गरेको छ ।
‘वामदेवले पनि नेतृत्वबाट हट्नुपर्ने माग राख्ने, भीम रावलको टीमले पनि त्यही माग राख्ने गरेको सुनेर अध्यक्ष हैरान हुनुभएको छ । त्यसैले उहाँले आ-आफ्नो कित्ता रोज्न सबै स्वतन्त्र रहेको वक्तव्य दिनुपरेको हो । नत्र पहिलो कुरा त विभाजन कुन नेताले चाहेको छ र ? दोस्रो विभाजन नै भएपनि आफूतिर धेरै शक्ति होस् भन्ने सबैले चाहन्छन् । अहिले समूह बनाएर बार्गेनिङ गर्ने चलन बढेको छ,’ ओलीनिकट एक नेताको दाबी छ ।