चर्को विवादबीच डोटीमा भीम रावलले मारे बाजी - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

चर्को विवादबीच डोटीमा भीम रावलले मारे बाजी



काठमाडौँ- नेकपा (एमाले) डोटीको आठौँ जिल्ला अधिवेशनबाट चक्रबहादुर मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। लामो रस्साकस्सी र सर्वसम्मतको अभ्यासपछि मल्ल दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन्।

अध्यक्षमा लक्ष्मण मलासीले पनि दाबी गरेका थिए। अन्तिममा उनले मल्ललाई नै समर्थन गरेपछि सम्पूर्ण जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको हो।

अन्य पदाधिकारीमा उपाध्यक्षमा मञ्जु मलासी, सचिवमा शेरबहादुर मल्ल, उपसचिवमा कृष्णबहादुर खड्का र तेजबहादुर डुम्रेल निर्विरोध निर्वाचित भएका छन्।

पदाधिकारी र सदस्यसहित कुल ८९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको छ।

निर्वाचित अध्यक्ष मल्ल एमालेका प्रभावशाली नेता भीम रावल निकट मानिन्छन्। २०६९ सालमा सम्पन्न जिल्ला कमिटीको सातौ अधिवेशनमा उनी पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए।

नेकपा विवादका बेला रावलसंगै उनी माधव–प्रचण्ड पक्षसंग गएका थिए। त्यसबेला केपी ओली पक्षले जिल्ला समन्वय समितिका संयोजक रहेका रामबहादुर ऐरलाई अध्यक्ष बनाएको थियो। उनी मल्ल अध्यक्ष रहेको कमिटीका सचिव हुन्।

सर्वोच्च अदातलको उत्प्रेषणको आदेशपछि एमाले–माओवादी केन्द्र छुट्टिँदा मल्ल फेरि भीम रावलसंगै एमालेमा फर्किएका थिए। त्यसयता एमाले जिल्ला कमिटीको आधिकारिक अध्यक्षका विषयमा विवाद थियो।