महाधिवेशन बहिस्कार गर्ने भीम रावलको तयारी - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

महाधिवेशन बहिस्कार गर्ने भीम रावलको तयारी



काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै नेता रावलले सर्वसम्मत गर्ने अडान ओलीले नछाडे महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका हुन् । बिहान सात बजे होटेल सफारी रिसोर्ट छिरेका अध्यक्ष ओली सर्वसम्मतको अडान राख्दै अहिलेसम्म नेताहरूसँग छलफल गरिरहेका छन् ।

उता नेता रावलले पनि सर्वसहमतिका नाममा जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका छन् । उनी दिउँसो दुई बजेबाट बन्दसत्र स्थलमै रहेका छन् ।

एमालेको नयाँ केन्द्रीय कमिटीको सूची तयार भएको छ । सौराहास्थित पार्क सफारी होटलमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङले अध्यक्ष केपी शर्मा ओलीलाई ३०१ केन्द्रीय सदस्यको सूची तयार पारेर बुझाएका हुन् ।

तयार पारिएको केन्द्रीय सदस्यको सूचीको प्रिन्ट निकालेर लगेपछि अध्यक्ष ओलीले फाइनल रुजु गर्ने छन् । त्यसपछि साँझ ७ बजे सुरु हुने भनिएको बन्दसत्रमा पेश गर्ने तयारी गरिएको छ । केन्द्रीय कमिटीमा क–कसको नाम प्रस्ताव गरिएको छ भन्ने खुल्न बाँकी छ ।

शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र सौराहामा शनिबारबाट सुरु भएको थियो। तर पदाधिकारी तथा केन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास जारी रहँदा आइतबारको बन्दसत्र सुरु भएको छैन। सहमतिको नाम प्रस्ताव गर्ने अधिकार बन्दसत्रले अध्यक्ष ओलीलाई दिएकाले सबैको दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली परेका छन् ।

उपाध्यक्ष डा भीम रावलले सहमतिमा नभई निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने र आफूले अध्यक्षमा उम्मेदवारी दिने अडान लिएपछि सर्वसम्मतिको प्रयासमा कठिनाइ उत्पन्न भएको छ । अध्यक्ष ओली बसेको होटेल पार्क सफारीमा नेता कार्यकर्ताको आउने जानेक्रम चलिरहेको छ । तर, रावलले भने सम्वाद गर्न चाहेका छैनन् ।