पार्टीको खाताबाट भीम रावलले ३० लाख झिकेको आरोप - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

पार्टीको खाताबाट भीम रावलले ३० लाख झिकेको आरोप



काठमाडौं- पार्टी अनौपचारिक विभाजन भएपछि नेपाल कम्युनिस्ट पार्टी नेकपाको सम्पत्ति नाम र चुनाव चिन्हबारे अन्योल र विवाद बढेको छ ।

पार्टीको बैंक खाता रोक्का गर्न नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले बैंकहरूलाई खबर गरेकै दिन पार्टीको खाताबाट बुधबार ३० लाख रुपैयाँ झिकिएको दाबी नेकपाकै नेताले गरेका छन् ।

नेकपा सुदूरपश्चिमको बैंक खाताबाट बुधबार ३० लाख रुपैयाँ झिकिएको प्रदेश अध्यक्ष कर्ण थापाले दाबी गरेका छन् । भीम रावलले दबाब दिएर बुधबार पार्टीको खातामा रहेको ३३ लाखमध्ये ३० लाख रुपैयाँ झिकिएको थापाले दाबी गरेका हुन् । थापा अहिले प्रधानमन्त्री ओली समुहमा खुलेर लागेका छन् ।

‘पार्टीको खाताबाट ३० लाख रुपैयाँ झिकिएको छ र यो रकम झिक्न भिम रावलले दवाव दिएका छन्’ थापाले भने । थापाका अनुसार तीनजनाको नाउँमा खाता सञ्चालन भएकोमा दुईजनालाई मिलाएर रावलले पैसा झिक्न लगाएका छन् ।

‘भीम रावलले दबाब दिएर बुधबार पार्टीको खातामा रहेको ३३ लाखमध्ये ३० लाख रुपैयाँ आज झिक्न लगाउनु भएको जानकारी हामीले पाएका छौँ,’ थापाले भने।

सुदूरपश्चिमको प्रदेश स्तरीय कार्यकर्ता भेलामा थापाले रावलको दवावमा पैसा झिक्न लगाएको दाबी गरेका थिए।

प्रचण्ड-नेपाल समूहमा रहेका नेकपा स्थायी कमिटी सदस्य भीम रावल प्रधानमन्त्री ओलीका आलोचक समेत हुन् ।