श्रीलंकाली राष्ट्रपतिको रअले हत्या गर्ने षडयन्त्र के हो ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

श्रीलंकाली राष्ट्रपतिको रअले हत्या गर्ने षडयन्त्र के हो ?



श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमाण् अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ ले आफ्नो हत्या गर्ने षडयन्त्र रचिरहेको आरोप लगाएका छन्।

मंगलबार राजधानी कोलम्बोमा भएको मन्त्रिपरिषद्को साप्ताहिक बैठकमा उनले भारतीय गुप्तचार निकाय रअले आफ्नो हत्या गर्न खोजिरहेको आशंका व्यक्त गरेका हुन्।

‘प्रधानमन्त्री नरेन्द्र मोदी रअको यो योजनाबारे जानकार नहुन सक्छन्,’ मन्त्रिपरिषदमा सिरिसेनाको भनाइ उद्धृत गर्दै भारतीय पत्रिका द हिन्दुले बुधबार लेखेको छ, ‘सिआइएका यस्तै कदमबारे अमेरिकी राष्ट्रपति ट्रम्प पनि जानकार नहुन सक्छन्।’

‘राष्ट्रपतिले त्यसो भन्दा हामी स्तब्ध भयौं,’ एक मन्त्रीको भनाइ हिन्दुले उद्धृत गरेको छ। बैठकमा सिरिसेनाले ‘आफ्नो हत्याको षडयन्त्र भैरहेको र त्यसमा श्रीलंकाको सरकार उदासिन रहेको’ भन्दै असन्तुष्टी पोखेका थिए।

श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमणको केही दिनअघि राष्ट्रपति सिरिसेनाले मन्त्रीपरिषद बैठकमै यस्तो दाबी गरेपछि मन्त्री र सरकारका अधिकारीहरू स्तब्ध भएका हुन्।

बिक्रमासिंघेले दिल्लीमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरी भारतको सहयोगमा श्रीलंकामा सञ्चालन भइरहेका परियोजना र दुई पक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ।

तीन वर्षअघि, २०१५ मा तत्कालीन सरकारमा मन्त्री रहेका सिरिसेना निर्वाचनको ठिक अघि नयाँ पार्टी गठन गरी महिन्दा राजापाक्ष विरुद्ध राष्ट्रपतिका उम्मेदवार बनेका थिए। आफ्नै पार्टीका नेताबाट चुनावमा पराजित भएपछि पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले ‘कोलम्बोको सत्ता परिवर्तनमा भारतीय गुप्तचर संस्था रअको भूमिका रहेको’ आरोप लगाएका थिए।

आफुले चीनसँग मिलेर पूर्वाधार विकासका परियोजना अगाडि बढाएपछि दिल्लीले कोलम्बोको सत्ता परिवर्तनमा भूमिका खेलेको राजापाक्षले बताउँदै आएका छन्। सिरिसेनाले चीनको लगानीमा हिन्द महासागरको चटगाउँमा बन्दै गरेको सामुद्रिक बन्दरगाह रोक्न सुरुमा प्रयास गरेपनि पछि त्यसलाई केही परिमार्जनसहित निरन्तरता दिएका थिए।

मन्त्रीपरिषद बैठकमै ‘रअले आफ्नो हत्या षडयन्त्र रचिरहेको’ आरोप लगाएर सिरिसेनाले दिल्लीसँग आफ्नो सम्बन्ध निकै चिसिएको खुलासा गरेका छन्।

श्रीलंकाली नेताले भारतको बाह्य गुप्तचर निकायमाथि आन्तरिक विषयमा हस्तक्षेप गरेको आरोप लगाएको यो पहिलो पटक होइन। तर राष्ट्रपतिले नै यसरी आफ्नो हत्या गर्ने षडन्त्र भइरहेको भनेर मन्त्रीपरिषदमा असन्तुष्टी पोखेको भने पहिलो घटना हो।

त्यसबेला राजापाक्षको मन्त्रिपरिषदका सदस्य सिरिसेना र विपक्षी नेता बिक्रमासिंघेलाई सरकार विरुद्ध एक ठाउँ ल्याउन भारतीय एजेन्सीहरुले भूमिका खेलेको चर्चा दिल्लीका सञ्चार माध्यममा पनि भएको थियो।

गत महिना श्रीलंकामा पूर्व राष्ट्रपति राजापाक्षको हत्या षडयन्त्र भइरहेको चर्चा पनि भएको थियो। श्रीलंकाको भ्रष्टाचार विरोधी निकायका नमल कुमाराले सिरिसेना र पूर्व रक्षामन्त्री गोतावाया राजापाक्षको हत्याको योजनाबारे जानकार रहेको दाबी गरेका थिए। त्यसपछि प्रहरीले सेप्टेम्बरको अन्त्यमा कोलम्बोमा एक भारतीयलाई पक्राउ गरेको थियो।

श्रीलंकाली सञ्चार माध्यमले भारतको केरललाई एम थोमसलाई यो विषय थाहा भएको दाबी गरेका थिए। तर श्रीलंकाली सरकारले यसको खण्डन गरेको थियो। सञ्चार मन्त्री मंगला सामरवीराले ‘गलत सूचनाको अभियान’ भन्दै सञ्चारकर्मीलाई जिम्मेवार हुन आग्रह गरेका थिए।