नरेन्द्र मोदी रातभर गुफामा बस्नुको रहस्य यस्तो - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

नरेन्द्र मोदी रातभर गुफामा बस्नुको रहस्य यस्तो



नयाँ दिल्ली । भारतमा आइतबार लोकसभा निर्वाचनअन्तर्गत सातौं अन्तिम चरणको मतदान भइरहेको छ ।

अन्तिम चरणमा विभिन्न राज्यका ५९ लोकसभा सिटका लागि मतदान हुँदैछ । आज भइरहेको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदीको समेत भाग्य फैसला हुने छ । उनी उम्मेदवार रहेको वाराणसी क्षेत्रमा पनि आजै मतदान हुँदैछ ।

मोदी शनिबारदेखि तीर्थयात्रामा छन् । बद्रीनाथ, केदारनाथ धामको तीर्थ यात्रामा रहेका उनी आइतबार दिउँसो दिल्ली फर्कने कार्यक्रम छ ।

शनिबार मोदीले केदारनाथको दर्शन गरे । उनले मन्दिरमा केहीबेर पूजासमेत गरेका थिए ।

शनिबार साँझ उनी करिब दुई किलोमिटर पैदल हिँडेर केदारनाथ नजिकैको एक गुफामा पसे । उनी रातभर सोही गुफामा रहेर ध्यान गरेको बताइन्छ ।

समाचार एजेन्सीहरुका अनुसार चुनावी प्रचार तथा दौडधुपबाट थकित भएका उनले ध्यान गरेका हुन् । कतिपयले उनको तीर्थ यात्रा र गुफाको बसाइलाई चुनाव प्रचारकै हिस्सा मानेका छन् । हिन्दू मतदाताको विश्वास आर्जन गर्न उनले धर्मकर्ममा आफूलाई केन्द्रीत तुल्याएको उनीहरुको तर्क छ ।

गुफाभित्र करिब १२ घण्टा बिताएका मोदी आइतबार बिहान बाहिर निस्किएका छन् । उनी बद्रीनाथ मन्दिर दर्शन गरेर फर्कने कार्यक्रम रहेको बताइएको छ ।

दोस्रो कार्यकाल सरकारको नेतृत्व गर्ने अभिलाषा बोकेका मोदीका लागि चुनाव परिणाम अनुकुल हुने हो या होइन भन्ने प्रष्ट भइसकेको छैन । मतदाताले आफ्नो मत प्रकट गरिसकेको अवस्थामा मठ मन्दिरमा पुगेर मोदीले गरेको याचना कति सार्थक हुने हो, मतगणनापछि मात्र प्रष्ट हुनेछ । (एजेन्सी)