राष्ट्रपतिले ढुक्क भएर भन्ने हो ‘मेरो सरकार’ र भन्नुपर्छ:प्रम ओली
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले देश निर्माण गर्ने सङ्कल्प लिएको दाबी गरेका छन् ।
सङ्घीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रमबाट देश निर्माण गर्ने सङ्कल्प लिएको दाबी गरेका हुन् ।
‘सरकारको नीति तथा कार्यक्रमले दूरगामी भिजन राखेको छ । देश बनाउने सङ्कल्प बोकेको छ । अठोट पनि लिएको छ,’ उनले भने ।
‘माननीयज्यूहरूलाई अचम्म लागेछ, सपना भनेको राति मात्र देखिने कुरा हो भन्ने कतिपयलाई लागेको छ । यहाँ कुरा गरेको राति देख्ने सपना होइन । देश बनाउने कुराको सपना हो । हाम्रो भविष्यको सपना हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो निदाएको बेला देख्ने सपनाको कुरा गरेको होइन, जागै हुँदा देख्ने सपनाको कुरा गरेको हो ।’
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गरेको टिप्पणीको खरो जबाफ दिए । उनले नीति तथा कार्यक्रममा सरकारले देखेको सपना राति देख्ने सपना नभएर दिउँसै देख्ने सपना भएको जबाफ
फर्काए ।
‘यहाँ राति देख्ने सपना होइन, देश बनाउने सपना हो । सुतेर होइन, जागै देख्ने सपना हो,’ प्रधानमन्त्री ओलीले भने, ‘‘सहिदका सपना भनेको घुरेर देख्ने सपना होइन, सहिदले लिएको लक्ष्यलाई सपना भनिन्छ ।’
यसअघि छलफलमा भाग लिँदै काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले नीति तथा कार्यक्रम तयार पारिँदा गल्तीले ‘मेरो सरकार’ लेखिएको भए अन्यथा मान्न नहुने तर्क गर्दै उनले नियतवश लेखिएको भए विकल्प दिउँसै सपना देख्नु उचित नहुने जिकिर गरेका थिए ।
उनले भने, ‘ राष्ट्रपतिले ढुक्क भएर ‘मेरो सरकार’ भन्नुपर्छ । उहाँले मेरो सरकार भनेय ठीक गर्नुभयो । हामी सबैको सरकार हो । त्यसैले उहाँको पनि सरकार हो । प्रतिपक्षलाई मेरो सरकार भन्न अफ्ठ्यारो भएको होला तर ढुक्क भएर ‘मेरो सरकार’ भन्दा हुन्छ ।’