राष्ट्रपतिले सरकारै आफ्नो नाममा गरिसक्नु भो, मान्छेहरु जग्गाको पछि लागेका छन् ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

राष्ट्रपतिले सरकारै आफ्नो नाममा गरिसक्नु भो, मान्छेहरु जग्गाको पछि लागेका छन् !



आगामी आर्थिक वर्ष २०७६÷०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा चौतर्फी विरोध भइरहेको छ ।

राष्ट्रपतिले नीति तथा कार्यक्रमका क्रममा नेपालमा गणतन्त्र स्थापनापछि पहिलोपटक ‘मेरो सरकार’ भनेकी थिइन् । यसअघि पञ्चायतकाल र बहुदलीय व्यवस्थामा राजाहरुले तत्कालीन श्री ५ को सरकारलाई ‘मेरो सरकार’ भन्ने गरेका थिए । कतिपय कट्टर आलोचकले राष्ट्रपतिले आफूलाई राजाकै शैलीमा प्रस्तुत गरेको समेत आरोप लगाएका छन् । राष्ट्रपतिको सम्बोधन जारी रहेकै बेला कतिपय सांसदले संसद बैठकबाटै सामाजिक सञ्जालमा त्यसबारे आपत्ति जनाइसकेका थिए । राष्ट्रपतिको दुई घण्टा लामो सम्बोधन सकिने बेलासम्म सामाजिक सञ्जाल तातिइसकेको थियो । अधिकांश समाचार पोर्टलले ‘मेरो सरकार’ भनेकामा तीखो एंगलबाट समाचार छापिसकेका थिए । सत्तारुढ नेकपाकै कतिपय नेतासमेत राष्ट्रपतिले मेरो सरकार भनेकामा आपत्ति प्रकट गरिरहेका छन् ।

गणतन्त्र स्थापनाभएपछि गिरिजाप्रसाद कोइराला केही समय कार्यबाहक राष्ट्राध्यक्ष भए । रामवरण यादव सात वर्ष राष्ट्रपतिका रुपमा रहे । कोइराला र यादवले कहिल्यै ‘मेरो सरकार’ भनेको सुनिएको थिएन । उनीहरुले नेपाल सरकार, वर्तमान सरकार जस्ता पदावली प्रयोग गरेका थिए । राष्ट्रपति भण्डारी स्वयंले यसअघि कहिल्यै मेरो सरकार भनेकी थिइनन् । राजतन्त्र अन्त्यपछि पहिलोपटक ‘मेरो सरकार’ शब्द सुन्दा कतिपयलाई नौलो र कतिलाई आपत्तिजनक लागिरहेको छ ।

शनिबार काठमाडौंबाट प्रकाशित हुने अधिकांश राष्ट्रिय दैनिक पत्रिकाले उक्त विषयलाई महत्वका साथ स्थान दिएका छन् । केही पत्रिकाले उक्त प्रकरणलाई ब्यंग्य गर्दै कार्टुनसमेत बनाएका छन् । नयाँ पत्रिका दैनिकले ‘मेरो सरकार’ भनेकामा खरो कार्टुन छापेको छ । कार्टुनमा औपचारिक पोसाक लगाएर एकजना भद्र व्यक्ति हातमा रिमोर्ट लिएर बसेका छन् । उनको अगाडि टेलिभिजन सेट छ । राष्ट्रपतिले नीति तथा कार्यक्रक बाचनका क्रममा ‘मेरो सरकार’ भनेपति ती व्यक्तिले भनेका छन्– राष्ट्रपतिले सरकारै आफ्नो नाममा गरिसक्नु भो मान्छेहरु बालुवाटारको जग्गाको पछाडि कुदेका छन् ।’ कार्टुनले राष्ट्रपति र बालुवाटारस्थित ललिता निवासको १ सय १७ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा गरिएको विषयलाई एकैसाथ ब्यंग्य गर्न खोजेको छ । कार्टुनले राष्ट्रपतिले सरकार नै आफ्नो नाममा गरेकाले बालुवाटारको जग्गा व्यक्तिको नाममा हुनुलाई सामान्य हो भन्न खोजेको छ ।