राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि शनिबार पोल्याण्ड जाने - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि शनिबार पोल्याण्ड जाने



काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्ड जाने भएकी छन् ।

परराष्ट्र मन्त्रालयअनुसार संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी कोप २४ सम्मेलनमा नेपाली पक्षको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि जान लागेकी हुन् ।

कोप २४ सम्मेलन दक्षिणी पोल्याण्डको काटोवाइस सहरमा मंसिर १६ गतेदेखि सुरू हुँदैछ । राष्ट्रपति भण्डारीले मंसिर १७ गते सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सोही दिन राष्ट्रपति भण्डारीले राष्ट्र संघको महासभाकी अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा ग्रेससँग भेट्ने छिन् । पोल्याण्डका राष्ट्रपतिले सम्मेलनका पाहुनाका लागि आयोजना गर्ने रात्री भोजमा पनि राष्ट्रपति सहभागी हुनेछिन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले पोल्याण्डका समकक्षी एन्डरजेइ सेबास्टिएन डुडासँग भेटवार्ता गर्नेछिन् । राष्ट्रपतिको टोलीमा वन मन्त्री शक्तिबहादुर बस्नेतसहित सांसदहरू पनि हुनेछन् । राष्ट्रपति भण्डारी १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।