रायसिना संवादमा परराष्ट्रमन्त्री ज्ञवालीले भने :नेपाल सधैं बहुपक्षीय राष्ट्रको पक्षमा रहने छ - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

रायसिना संवादमा परराष्ट्रमन्त्री ज्ञवालीले भने :नेपाल सधैं बहुपक्षीय राष्ट्रको पक्षमा रहने छ



काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुनै देशको आर्थिक विकासलाई अर्को देश विरुद्धको विकासको रुपमा चित्रण गर्न नहुने बताएका छन्। भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको चौथो रायसिना संवादलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन्।

चीनको आर्थिक विकासलाई अमेरिका, भारत, जापान लगायत देशले घर्ने इन्डो प्यासफिक रणनीति अख्तियार गरेको चर्चा चल्दै गर्दा मन्त्री ज्ञवालीले कुनै देशको प्रगतिसँग डराउनुभन्दा प्रगतिमा हातेमालो गर्दा लाभ लिन सकिने बताए। विश्वमा हाल देखिएका समस्यालाई एकलभन्दा सामूहिक निरुपण खोज्न उनले जोड दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भूमण्डलीकरणको जग हाल्ने देशले नै त्यसको विरोध प्रश्न गर्नु अस्वाभाविक भएको पनि बताए। ज्ञवालीले भने, ‘जसले भूमण्डलीकरणको जग हाल्यो त्यसले नै त्यसमा प्रश्न गर्नु आश्चर्यको विषय हो।’

वर्तमान विश्वको केन्द्रमा अर्थतन्त्र रहेको बताउँदै मन्त्री ज्ञवालीले वैचारिक विभाजन नभएको विश्वमा पुरानो विश्व व्यवस्थाले पूर्ण काम गर्न नसकेको र नयाँ विश्व व्यवस्थाले आकार नलिएको बताएका छन्।

तुलनात्मक रुपमा हालको विश्व शान्तिपूर्ण रहेको बताउँदै मन्त्री ज्ञवालीले यस्तो अवस्थामा पनि केही देशले गरेको सैन्य खर्चले विश्वलाई अशान्तितर्फ लैजान सक्ने शंका उब्जिएको बताए। सैन्य मामिलामा गर्ने खर्च अन्य क्षेत्रमा गर्दा त्यसले गुणात्मक परिवर्तन आउन सक्ने उनले विश्वास व्यक्त गरे।

नेपाल जस्तो देशलाई बहुपक्षीय संस्थाहरू अन्तर्राष्ट्रिय रुपमा आफ्नो आवाज राख्ने माध्यम भएको बताउँदै नेपाल सधैं बहुपक्षीय राष्ट्रको पक्षमा रहेको र रहने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘नेपाल जस्तो विकासशील सानो देशलाई दुई पक्षीय वार्ताका माध्यमबाट आफ्नो समस्याको समधान खोज्न गाह्रो हुन्छ’, मन्त्री ज्ञवालीले भने, ‘त्यस्तोमा हामीलाई सामूहिक रुपमा आफ्नो आवाज बुलन्द पार्न बहुपक्षीय संस्था महत्वपूर्ण माध्यम हो।’

गत वर्ष चीनको हुवे प्रान्तको बुहानमा भएको चिनियाँ राष्ट्रपति सि जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ताले नयाँ आशाको सञ्चार गरेको उनले बताए। चीन र भारत मिलेर अघि बढ्दा नयाँ विश्व व्यवस्थाको नेतृत्व एसियाले गर्न सक्ने उनको जिकिर थियो।