राष्ट्रिय सभा निर्वाचन: एमालेले अहिलेको आठ सिट गुमाउने पक्का - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

राष्ट्रिय सभा निर्वाचन: एमालेले अहिलेको आठ सिट गुमाउने पक्का



काठमाडौँ- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाबीच सहमति बनेको हो ।

सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकले रिक्त १९ सिट बाँडफाँट गरेर निर्वाचनमा अघि बढ्ने सहमति गरेको हो । सत्ता गठबन्धन एकातिर भएपछि एमालेले अहिलेको आठ सिट गुमाउन सक्ने सम्भावना देखिएको छ ।

एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याइएको छ । संघीय संसद् सचिवालयका अनुसार एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादी ४, माओवादीको ४, मनोनीत १ जनाको अवधि फागुन २१ मा सकिँदै छ । सत्ता गठबन्धन पार्टीका जति जनाको पदावधि सकिँदै छ, भागबन्डामा त्यसभन्दा बढी सिट पाएका छन् । यही दिन राष्ट्रपतिबाट मनोनीत रामनारायण बिडारीको पनि अवधि सकिँदै छ । यो पदमा भने कसलाई पठाउने भन्नेबारे सहमति नभएको खनालले बताए ।

राष्ट्रिय सभा ५९ सदस्यीय हुन्छ । ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यस पटक २० जनाको पदावधि सकिँदै छ । दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ । राष्ट्रिय सभामा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ । त्यसअनुसार यस पटक सातै प्रदेशमा एक महिला, १ अन्य गरी २–२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १–१ जना, प्रदेश १ र कर्णाली प्रदेशबाट अपांगता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदै छ ।

राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाबमोजिम आयोगले १२ माघमा निर्वाचन गर्ने मिति तोकेको हो । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । एमाले, कांग्रेस, एकीकृत समाजवादीले उम्मेदवारको नामसमेत टुंग्याएका छन् ।

निर्वाचन आयोगको समानुपातिकतर्फ बन्दसूचीबाट हटाइसकेको नारायण दाहाल र पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानको नाम कुनै प्रदेशमा राखिएको छैन । दाहाल माओवादी अध्यक्ष पुष्पकमल दाहालका भाइ हुन् । ‘उहाँलाई कहाँ समावेश गर्ने भन्ने टुंगो लागेको छैन,’ कार्यालय सचिव डोरप्रसाद उपाध्यायले भने । दाहाललाई वाग्मती प्रदेशबाट उम्मेदवार बनाउने तयारी गरे पनि गठबन्धनमा कांग्रेस र समाजवादीको परेको छ ।

प्रदेश १ मा महिला, अपांगता भएका वा अल्पसंख्यक र अन्य गरी तीन पदमा निर्वाचन हुँदै छ । यो पदमा एमोलले गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई उठाउने केन्द्रीय सचिवालयको बैठकले निर्णय गरेको कार्यालय सचिव भीष्म अधिकारीले बताए । गठबन्धनका तर्फबाट कांग्रेसका गोपाल बस्नेत, एकीकृत समाजवादीबाट जयन्ती राई र जसपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । जसपाले उम्मेदवार टुंग्याएको छैन ।

त्यस्तै, प्रदेश २ मा महिला १ र अन्यमा १ पदमा निर्वाचन हुँदै छ । यो पदमा एमालेले असर्फी भिनवार यादव र बिना साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गठबन्धनमा महिलातर्फ माओवादीको भागमा परेको छ भने अन्यमा जसपाले पाएको छ । दुवैले उम्मेदवारी टुंग्याएका छैनन् । यस्तै, वाग्मतीको २ सिटमा एमालेले गोपाल शाक्य र नीरकुमारी कुँवर दर्लामीलाई उठाउँदै छ । अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेल, महिलामा समाजवादीबाट गोमा तिमल्सिनाले उम्मेदवारी दिने भएका छन् ।

गण्डकी प्रदेशमा महिला एक, दलित एक र अन्य एक सिटमा निर्वाचन हुँदै छ । एमालेका तर्फबाट अर्जुनकुमार सुनाम, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेलले उम्मेदवारी दिँदै छन् । गठबन्धनबाट उनीहरूसँग महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटामा माओवादीका उम्मेदवार हुनेछन् । माओवादीले अन्यमा सुरेश आले मगर र दलितमा भुवन सुनारको नाम टुंग्याएको छ । लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य पदमा निर्वाचन हुनेछ । यी पदमा एमालेबाट कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता प्रतिस्पर्धामा उत्रनेछन् । उनीहरूसँग गठबन्धनका तर्फबाट अन्यमा कांग्रेसका युवराज शर्मा, महिलामा समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, दलितमा राष्ट्रिय जनमोर्चालाई सिट छुट्याइनेछ । जनमोर्चाले तुलप्रसाद विश्वकर्मालाई उठाउन समानुपातिकको बन्दसूचीबाट नाम हटाउन निर्वाचन आयोगमा पार्टीले निवेदन दिइसकेको छ ।

कर्णालीमा महिला एक, अपांगता वा अल्पसंख्यक एक र अन्यमा एक जनाको मतदान हुनेछ । यो पदमा एमालेले पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मालाई उठाउँदै छ । उनीहरूसँग गठबन्धनका तर्फबाट महिलातर्फ कांग्रेसकी दुर्गाकुमारी गुरुङ र अपांगतर्फ माओवादीका र अन्यतर्फ समाजवादीका उदय बोहराले प्रतिस्पर्धा गर्दै छन् । सुर्खेतमा रिक्त रहेको तीन सिटमा गठबन्धनले अन्यमा कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादीका जगत पार्की र महिलामा एकीकृत समाजवादीका मदनकुमारी शाहले उम्मेदवारी दिँदै छन् । उनीहरूसँग एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई उम्मेदवारी दिने एमालले जनाएको छ ।

माओवादीको कोटामा परेको पाँच पदका लागि उम्मेदवारी दिन नारायणप्रसाद दाहाल र पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानको नाम समानुपातिकको बन्दसूचीबाट हटाइएको छ । पार्टीको सिफारिसअनुसार उनीहरूको नाम हटाएको आयोगले जनाएको छ ।

माओवादीले सुरेशकुमार आले मगर, जगत पार्कीको नाम पनि बन्दसूचीबाट हटाइदिन मौखिक जानकारी दिएको छ । आयोग स्रोतका अनुसार बन्दसूचीमा रहेका जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा, एमालेबाट सोनाम ग्याल्जेन शेर्पा, जसपाबाट मोहम्द खालिद र प्रकाश अधिकारीको नाम पनि बन्दसूचीबाट हटाउन आयोगमा पत्र पठाएको छ । आयोगले दाहाल र प्रधानको मात्रै हटाउने निर्णय गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।