राष्ट्रिय सभा बैठक आज: यस्तो छ कार्यसूची - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

राष्ट्रिय सभा बैठक आज: यस्तो छ कार्यसूची



काठमाडौं- लामो समयपछि राष्ट्रिय सभाको आठौं अधिवेशन शुरू हुन लागेको छ। संघीय संसद् भवन बानेश्वरमा आज अपरान्ह ४ बजे बैठक बस्न बस्ने भएको हो।

राष्ट्रिपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। बैठकका लागि राष्ट्रिय सभा सदस्य र अन्य कर्मचारीको बुधबार नै कोभिड–१९ परीक्षण गरिएको छ।

आजै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तय गर्नेछ। तथापि, संघीय संसद्का महासचिव भरतराज गौतमले सम्भावित कार्यसूची सार्वजनिक गरेका छन्।

बैठकको शुरुआतमा राष्ट्रिय सभा अध्यक्षले अधिवेशन आह्‍वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र बढेर सुनाउनेछन्। त्यसपछि मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त अर्को पत्र पढेर सुनाउनेछन्।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यसअघि ल्याएका बिभिन्न अध्यादेश पेश गर्नेछन्। जसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ र शपथ सम्बन्धी अध्यादेश २०७८ रहेका छन्।

त्यस्तै, उपप्रधानमन्त्री एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले पनि केही अध्यादेश पेश गर्ने कार्यक्रम रहेको छ। जसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ रहेका छन्।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची छ।

यससँगै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रिय सभा बैठकमा पेश गर्नेछन्।

अन्त्यमा राष्ट्रिय सभा अध्यक्षले पूर्वराष्ट्रिय सभा सदस्यहरू गंगादत्त जोशी, डा. शंकरप्रसाद उप्रेती, ऐश्वर्यलाल प्रधानाङ्ग, प्रा.विदुर पौडेल, पूर्वप्रतिनिधि सभा सदस्यहरू एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्ण सिंह परियार एवं संविधान सभा सदस्यहरू दिनेशचन्द्र यादव, अशोक कोइराला, नविन्द्रराज जोशी, लक्ष्मीदेवी भण्डारी, मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का, रबनी चौधरी र तप्तबहादुर विष्टको निधनमा शोक प्रस्तावहरू प्रस्तुत गर्नेछन्।