राष्ट्रिय सभा निर्वाचन: एमालेकै कारण कांग्रेस र जनमोर्चालाई फाइदा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

राष्ट्रिय सभा निर्वाचन: एमालेकै कारण कांग्रेस र जनमोर्चालाई फाइदा



काठमाडौं । राष्ट्रिय सभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन हाबी भयो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनर्मोचा (राजमो) गरी पाँच दलीय सत्ता गठबन्धनसँगको प्रतिष्पर्धामा प्रतिपक्षी एमालेले यसअघि आफू निर्वाचित भएको ७ वटा सिटसमेत जोगाउन सकेन । बरु एमाले ८ सिटबाट १ सिटमा झरेको छ ।

राष्ट्रिय सभामा एमालेका ८, माओवादी केन्द्र र एकीकृत समाजवादीका ४–४ र कांग्रेसको ३ गरी १९ सांसदले ४ वर्षे अवधि पुगेर विदा लिएपछि बुधबार निर्वाचन भएको हो ।

गठबन्धनभन्दा बलियो हुँदा पनि गुम्यो दुई सिट
प्रदेश १ मा गठबन्धनभन्दा १४४ मत बढी रहेको एमालेले एक सिटमा मात्रै विजयी भयो । महिला, खुला र अपांगता भएका वा अल्पसंख्यक गरी तीन क्लस्टरमध्ये अल्पसंख्यक कोटामा एमाले उमेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भए ।

उनले गठबन्धनकोतर्फबाट जसपाका उमेदवार हेमराज राईलाई पराजित गरे । शेर्पाले ४ हजार ७५२ मत ल्याउँदा गठबन्धनका राईले ४ हजार ३६८ मतभार प्राप्त गरेका थिए ।

अन्यमा गठबन्धनकै गोपालकुमार बस्नेत निर्वाचित भए । नेपाली कांग्रेसका बस्नेतले एमालेका गुरुप्रसाद बराल ‘लक्की’ सावित भए ।

एमालेका गुरु बराल र गठबन्धनका गोपाल बस्नेतको बराबर मत आयो । दुवैले ४ हजार ४८८ मतभार प्राप्त गरे । जसमा गोलाप्रथामार्फत बराल विजयी भए । अन्य प्रदेशमा पनि पराजित भएको एमाले गोलाप्रथामा समेत पराजित हुन पुग्यो ।

महिलातर्फ (एकीकृत समाजवादी)की उमेदवार जयन्ती राई निर्वाचित भइन् । उनले एमालेको तर्फबाट उमेदवार बनेकी सुमित्रादेवी भण्डारीलाई पराजित गरिन् ।

यसअघि प्रदेश १ मा ३ सिट नै एमालेले जितेको थियो । प्रदेश १ मा एमालेले आफूले यसअघि जितेको २ सिट गुमाउन पुगेको छ ।

त्यसैगरी मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गरेपनि एमाले सबै सिटमा हार बेहोर्न पुग्यो ।

मधेश प्रदेशमा पनि गठबन्धनै उमेदवारहरू निर्वाचित भए । महिलातर्फ गबठन्धनकी उर्मिला अर्याल निर्वाचित भएकी छन् । नेकपा माओवादीकी अर्यालले लोसपाकी रूपाकुमारी यादवलाई पराजित गरेकी हुन् ।

त्यस्तै अन्यतर्फ गठबन्धनका मोहमद खालिद सिद्दिकी चुनिए । जसपाका खालिदले एमालेका उसमान अन्सारीलाई पराजित गरेका हुन् । यसअघि राष्ट्रिय सभामा अन्यतर्फ एमाले निर्वाचित भएको थियो । एमालेले उक्त सिट पनि गुमाएको छ ।

त्यस्तै, वाग्मती प्रदेशमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना निर्वाचित भएकी छन् । वाग्मतीमा गठबन्धन, एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका उमेदवारी चुनावी मैदानमा होमिएका थिए ।

अन्यतर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भए । यहाँ कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का उमेदवारी पदावधि सकिएपछि निर्वाचन भएको हो ।

उता, गण्डकीमा महिलातर्फ गठबन्धनका उमेदवार कमला पन्त विजयी भएकी छन् । कांग्रेसकी पन्तले एमालेकी उमेदवार लीला पोखरेल थनेतलाई पराजित गरेकी हुन ।

दलितर्फ गठबन्धनबाट माओवादीका भुवनबहादुर सुनार र अन्यतर्फ माओवादीकै सुरेशकुमार आलेमगर विजयी भएका छन् ।
यसअघि यहाँ निर्वाचित माओवादीको दुई र एकीकृत समाजवादीले जितेको थियो ।

राष्ट्रिय सभामा राजमोको इन्ट्री
त्यसैगरी लुम्बिनीमा पनि गठबन्धनका उमेदवार नै विजयी भएका छन् । महिलातर्फ एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मीदेवी गैरे विजयी भइन् । दतिलतर्फ राष्ट्रिय जनमोर्चा (राजमो) का तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।

उनी निर्वाचित भएसँगै राष्ट्रिय जनमोर्चा (राजमो)को राष्ट्रियसभामा ‘इन्ट्री’ भएको छ । हालसम्म राजमो राष्ट्रिय सभामा निर्वाचित भएको थिएन । त्यस्तै अन्यमा कांग्रेसका युवराज शर्मा निर्वाचित भएका छन् ।

लुम्बिनीमा एमालेको दुई र कांग्रेसका एक सांसदको पदावधि सकिएपछि निर्वाचन भएको थियो । लुम्बिनी एमालेले आफ्नो सिट जोगाउन सकेन ।

कर्णालीमा पनि गठबन्धनले नै जित हासिल गरेको छ । कर्णालीमा महिलातर्फ कांग्रेसकी दुर्गा गुरुङ तथा अपांगता भएका व्यक्ति तथा अल्पसंख्यकतर्फ माओवादीका नरबहादुर विष्ट विजयी भए । कर्णालीमा अन्यतर्फ एकीकृत समाजवादीका उदयबहादुर बाेहाेरा विजयी भए ।

यसअघि कर्णलीमा एमाले र एकीकृत समाजवादीले विजयी भएका थिए । कर्णालीमा पनि एमाले यसअघिको आफ्नो सिट जोगाउन असफल भयो ।

सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनै जित भएको छ । सुदूरपश्चिममा दलितर्फ माओवादी केन्द्रका जगतबहादुर पार्की अन्यतर्फ कांग्रेसका नारायणप्रसाद मिश्र निर्वाचित भए । महिलातर्फ एकीकृत समाजवादीका मदन कुमारी शाह विजयी भइन् ।

यहाँ पनि एमालेले आफ्नो सिट जोगाउन सकेन ।

एमालेले आफ्नो सिट जोगाउन नसक्दा गठबन्धनका दललाई भने फाइदा भएको छ ।

गठबन्धनलाई लाभ

राष्ट्रिय सभाका कांग्रेसको ३ सिट थपिएको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीलाई एक–एक सिट लाभ भएको छ ।

२४ सिट रहेको नेकपा एमाले अब १७ (राष्ट्रियसभा अध्यक्षसहित) सिटमा खुम्चन पुगेको छ । तर, राष्ट्रिय सभामा पहिलो दल कायम छ ।

माओवादी १५ सांसदसहित दोस्रो, कांग्रेस १० सहित तेस्रो, एकीकृत समाजवादी ८ सांसदसहित चौथो दल कायम भएका छन् ।
अब जसपाका ३ र राजमोका एक सांसद हुनेछन् ।

त्यसैगरी राष्ट्रिय सभामा तीन मनोनीत, लोकतान्त्रिक समाजवादीका १ र एक स्वतन्त्र सांसद छन् ।