राजनीतिले नङ्याएको राष्ट्रिय पोशाक ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

राजनीतिले नङ्याएको राष्ट्रिय पोशाक !



-राजानन्द माण्डव्य

नेपाल एक ऐतिहासिक राष्ट्र हो ।नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातिको साझा फुलबारी पनि हो। साथै सार्वभौमसत्ता सम्पन्न एक ऐतिहासिक पहिचान बोकेको राष्ट्र हो।

देशमा विभिन्न समयमा धेरै आन्दोलन भए तर परिवर्तनका नाममा जति परिवर्तन देखिए ती सबै जनताका लागि शून्य भन्दा अरू केही देखीएनन । अझै भनौ भने राष्ट्रिय पोशाक त नेपालमा राणाकाल, पञ्चायत, बहुदल, राजतन्त्र, गणतन्त्र, लोकतन्त्र हुँदै मनपरितन्त्रसम्म आउँदा कैयौँ पटक बस्यो त कैयौं पटक हटाइयो तर यसको मूल्यमान्यता र गरिमालाई कहिल्यै मनन गरिएन ।

पोशाकलाई मात्र शरीर ढाक्ने साधनको रूपमा लिई यसको उच्चमुल्याङ्कन समेत कहिल्यै भएन । २००७ भन्दा अगाडिको त कुरै छाडौँ ०३६,०४५,०५७ सम्ममा विभिन्न कारणहरू देखाउँदै पोशाको गरिमालाई मर्मस्पर्शी रूपमा राजनैतिक घाउहरू लगाइयो र अन्ततः परिवर्तनको नाम राखी २०६८ मा नेकपा माओवादीको सरकार आउनासाथ राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी हटाई नेपालीलाई पोशाक विहीन बनाई नाङ्गो ताण्डव नृत्य गर्न लगाईयोे । फलस्वरूप विना पहिचानका नेपाली बनाई विश्व जगतमा परिष्कृत गरियो। हुन त परिवर्तन यस्तै हुन्छ होला भन्ने अधिकांश जनतालाई मनमा यही लाग्यो कि घाँडो पन्छियो तर कसैले पनि मनन गरेन कि हामी के कुरामा अग्रसर हुदैछौ र के कुरालाई तिरस्कृत गर्दैछौ भन्ने आत्मविवेचना कहीँ कसैले गरेको पाइएन ।

नेपाल एक अलग्गै पहिचान, मौलिकता, भाषा, संकृतीको महत्त्व दर्साउने विश्वको एक मात्र आशाका केन्द्रबिन्दु समेत मान्न सकिन्छ। विश्वको इतिहासलाई फर्केर हेर्दा मानव सभ्यताको विकास सँगै सुरुवात भएका परापूर्वकालीन पहिरन, संस्कृति तथा भाषाको उत्पत्तिको विकास तथा परिमार्जन सँगै विश्वका धेरैजसो देशहरू मौलिक पहिचानलाई छाड्दै आइरहेका छन्। त्यसअर्थमा पश्चिमा देशहरू परिवर्तनका अग्रणी मानिन्छन्। आजको समय सूचना प्रविधि तथा इन्टरनेटको युग हो। भूगोल नै आज एक गाउँ झैँ भइसकेको अवस्था छ । त्यसमध्यपनि पाश्चात्य संस्कृति तथा देशहरूको कार्यशैली पुरै विश्वले स्विकार्न थालिसकेको छ । त्यसको प्रभाव पूर्वीय संस्कृतिमा पनि पर्दै गइरहेको प्रस्ट देख्न सकिन्छ ।

देशको प्रतिनिधित्व गर्ने विश्वभरि अलग्गै पहिचान रहेको दौरा सुरुवाल, टोपीलाई अनेकौँ आन्दोलन र तन्त्रका नाममा मनपरितन्त्र गरी महत्त्व र गरिमालाई लिलाम गरियो र गलामा टाई र शरीरमा कोट लगाई परिवर्तको ढोङ देखाइयो र फलस्वरूप आफ्नो पहिचानलाई लिलाम बिक्री गरियो । आखिर यो कस्तो परिवर्तन हो जुन पहिचानलाई लिलाम गरी गणतन्त्र, लोकतन्त्रको नाम दिइन्छ ।

नेपाल मौलिक,सांस्कृतिक रूपमा सम्पन्न राष्ट्र हो तथापि विदेशी संस्कृतिको हालिमुहाली पनि भित्रँदै गइरहेको ज्वलन्त उदाहरण पनि देख्न सकिन्छन्। नेपालको कला सभ्यता र संस्कृति सँगै सांस्कृतिक सम्पदामा समेत पाश्चात्य देशहरूको आक्रमण हुँदै गर्दा हामी त्यसलाई सहर्ष स्विकार्न थालिसकेका छौ अझै भनौ हृदयाङ्गन गरिरहेको आजको युवा पुस्ताको जमात यत्र तत्र सर्वत्र देख्न सकिन्छ। हरेक देशको आफ्नो पहिचान हुन्छ, मौलिकता,संस्कृति तथा भाषा हुन्छ। देशको प्रतिनिधित्व झण्डाले गर्दछ त्यस्तै पहिचान पोशाकले पनि गर्दछ। देश संक्रमणकाली अवस्थामा तथा राजनैतिक अस्थिरताको कारण आर्थिक,नैतिक,सामाजिक,सांस्कृतिक विखण्डनमा गुज्रिरहेको छ। परिवर्तनका नाममा देशको पहिचान नै गुम्न लागिसकेको यथार्थ जगजाहेर छ । विदेशी संस्कृतिको आगमन सँगै भाषा,पोशाक,कला,संस्कृतिको त मजाक नै उडिरहेको छ। नेपाल एक छुट्टै पहिचान बोकेको देश भनेर विश्वभरि चिनिन्थ्यो भने आजको समयमा नेपाल परजीवी तथा परनिर्भर राष्ट्र भनी चिनिन थालेको छ ।

कुनै समय नेपालको संस्कृति तथा पहिरन र रहनसहन हेर्नको लागि विदेशी पर्यटकको आगमनको केन्द्रबिन्दु नेपाल उनीहरूको पोशाक,संस्कृतिको प्रभावले आफै पाश्चात्यकरण हुँदै गइरहेकोमा कुनै दुईमत छैन। देशको प्रतिनिधित्व गर्ने विश्वभरि अलग्गै पहिचान रहेको दौरा सुरुवाल, टोपीलाई अनेकौँ आन्दोलन र तन्त्रका नाममा मनपरितन्त्र गरी महत्त्व र गरिमालाई लिलाम गरियो र गलामा टाई र शरीरमा कोट लगाई परिवर्तको ढोङ देखाइयो र फलस्वरूप आफ्नो पहिचानलाई लिलाम बिक्री गरियो । आखिर यो कस्तो परिवर्तन हो जुन पहिचानलाई लिलाम गरी गणतन्त्र, लोकतन्त्रको नाम दिइन्छ ।

हरेक देशको आफ्नो पहिचान हुन्छ जस्मा झन्डा,राष्ट्रियगान,पोशाक विशेष हुन्छ। संसारलाई चिनाउनको लागि हरेक देश आफूलाई विशेष शैलीबाट प्रस्तुत गर्नेगर्दछ । त्यस्तै पहिचान र गरिमा बोकेको पोशाक हो दौरासुरुवाल,टोपी तथा गुन्यु चोली, जुन विश्व जगतमा अर्को कुनै पनि देशको छैन। के दौरासुरुवाल लगाउँदैमा देशको विकास हुँदैन ? के पोशाक पुरातन हुँदैमा सोच नुतन हुन सक्दैन ? के पोशाकको मूल्यमान्यता लाज ढाक्नुमात्रै हो । के पोशाकले शरीर ढाक्नु या प्रदर्शन गर्नुमात्र हो भने त्यो पहिचानको लडाई भनी आजसम्म लडिँदै आइरहेको जुन आन्दोलनहरू छन् तिनीहरूको कुनै तुक छैन । देशमा आजपनि पहिचान,परिवर्तन र विकासको नाममा संधर्ष जारी छ । तर जुन पहिचान थियो त्यसलाई पाखा लगाउँदै विदेशी पहिचान खोज्ने हामी कस्तो पहिचानको खोजीमा छौ र त्यो पहिचानको परिवर्तनले हामीलाई सम्बृद्ध, विकसित र उच्च बनाउँछ भन्ने विषयमा कसैको ध्यानाकर्षण छैन, यसमा पनि दुईमत छ ।

पोशाकको गरिमा झन्डा जस्तै उच्च हुन्छ । विश्वलाई चिनाउन पोशाकको पनि ठुलो महत्त्व हुन्छ अझै नेपाल जस्तो सांस्कृतिक धरोहरको देश अनि विश्वमै पृथक् पहिचान बोकेको दौरासुरुवाल टोपी, गुन्युचोलीको गरिमाको कुनै मूल्याङ्कन गर्न सकिँदैन । पाश्चात्य संस्कारका देशहरू नेपालको कला,सभ्यता र परम्पराको पारखी हुन जो पर्यटन प्रवर्धनको एक हिस्सा बनिसकेको छ । आज हामी हाम्रो संस्कृतिलाई विदेशी संस्कृतिसँग बेच्दै छौ तर यो पहिचानको विरासत पनि नष्ट हुँदैछ भन्नेमा आजको युवापुस्ताले सोच्नसमेत फुर्सद पाएको छैन । मानव उत्पत्तिको समय मानव जाति कपडा, पहिरनको प्रयोग गर्दैनथ्यो, विकास क्रमसँगै शरीर हिफाजत सँगै लाज ढाक्नको लागि पात, बोक्राको प्रयोग गर्दै आज मानव सभ्यता यो अवस्थामा आइपुगेको छ । यस्तै शरीरको अङ्ग प्रदर्शन गरिँदै जाने हो भने हामी पुन पहिरनमा ढुङ्गेयुगमा पुग्ने निश्चय छ । आफ्नो पहिचान,पहिरनको संरक्षण गर्न युवा पुस्ता सचेत नभएमा पहिचान विनाको हुनेछौ । देशको कुनै अस्तित्व रहनेछैन । देश नाङ्गो तथा पहिचान विनाको हुने पक्का छ ।तसर्थ नेपालको राष्ट्रिय पोशाक हुनु नितान्त आवश्यक छ ।

राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी तथा गुन्यु चोलीको आवश्यक्ताहरुः

देशको शान तथा पहिचानमा पोशाकको ठुलो मान्यता हुन्छ । पोशाकले शरीर ढाक्ने मात्र नभई अन्तराष्ट्रमा पहिचानको सङ्केत समेत गर्दछ । हरेक देशको झन्डा सँगै पोशाक पनि हुने गर्दछ । अति विकसित देशहरू पनि आफ्नो पहिचान तथा सभ्यता संस्कृतिलाई विश्वभरिको नौलो,पृथक् तथा गरिमामय बनाउन चाहन्छन् । विकास एउटा पाटो हो भने पहिचान अर्को पाटो हो । विकास आवश्यक छ तर पहिचान विनाको विकासको कुनै अर्थ हुँदैन । विश्वमा नेपाल भन्दा कयौँ धनवान्,शक्तिशाली तथा विकसित देशहरू छन् जो आफ्नो पहिचान पोशाक बाट गराउँछन् ।

नेपाल एक विकाससिल राष्ट्र अझै भनौ विश्व नजरमा स्वाभिमानले बाचेको, शिरमा सगरमाथा र हृदयमा गौतम बुद्ध बोकेको गाम्भिर्यता र सार्वभौमसत्तात्म देश हो । विकासमा गति लिन नसकेपनि संसारमा नेपाल पृथक् पहिचान बोकेको स्वतन्त्र देशको रूपमा हेरिन्छ । तर हामी हाम्रो संस्कृतिलाई बोझ सम्झन थाली सकेका छौ । पहिचान बेचेर , स्वाभिमान बेचेर विकास र परिवर्तन त आउला तर आत्मसम्मान कहिल्यै आउन सक्दैन । आत्मसम्मानलाई विश्वको कुनै पैसाले किन्न सक्दैन त्यस्तै नेपालको स्वाभिमानलाई कुनै देशले गिराउन सक्दैन भन्नेमा हामी विश्वस्त हुनुपर्दछ । तर हामीले अङ्गालेको यो विना गन्तव्यको यात्राले हामीलाई बदनामी भन्दा अरू केही दिनेछैन । हाल नेपाली विना पोशाकका भएका छौ । हामी सँग कपडा त धेरै छन् अनि महँगो पनि होलान् तर त्यो स्थान,त्यो आत्मसम्मान यी विदेशी पहिरनमा कदापि हृदयांगन गर्न सकिँदैन । विदेशी पोशाकले चमक त दिन्छ तर त्यसमा पहिचान कहाँ हुन्छ जो राष्ट्रिय पोशाक लगाउँदा हुन्छ ।

राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी,गुन्यचोली नै किन ?

यस्तो प्रश्न पनि उठिरहेको नै छ तर शताब्दी देखी रहिआएको पहिचानलाई पन्छाउँदै पाश्चात्य संस्कृति,पोशाक तथा धर्म परिवर्तन गर्दैमा देशले मुहार फेरेर संबृद्ध हुने हैन । आफूलाई नै बेचेर आर्जन गरेको सम्पत्ति जस्तो हो त्यस्तै हो पहिचान बेचेर पाएको परिवर्तन ।हजारौँ वर्षअघि देखी संरक्षण गरिँदै आएको लबेदा(दौरा) सुरुवाल र पछि आएर जोडिएको शिरको टोपीले इतिहासको कालखण्डमा दिग्विजय गरेको कुरा हामीले बिर्सन हुन्न । हिजोको इतिहासका पानामा अझैपनि दौरासुरुवालको महिमा र सामर्थ्यको स्वर्णअक्षर मेटिएको छैन जुन विदेशीको लडाइमा ती वीर सहिदहरूको छातीमा अङ्गरक्षक बनेर पहिरिएका हुन्थे ।

दौरासुरुवालको इतिहासलाई पल्टाएर हेर्दा ईतिहासविद सत्यमोहज जोशी भन्नुहुन्छ कि यो मल्लकालीन राज्यभन्दा पनि अगाडी रहको पाटन,भक्तपुर लगायतका ऐतिहासिक मन्दिरहरूका मूर्तीहरूमा आज पनि प्रस्ट देख्न सकिन्छ । आफ्नो अमूल्य गरिमामय संस्कृतिलाई त्यागेर विदेशी संस्कृतिलाई अपनाउन खोज्नु हाम्रो मूर्खता हो । देश पहिचान खोजिरहेछ,देश परिवर्तन खोजी रहेछ।देश आज पनि त्यो इतिहासलाई बाचाईरहेछ जुन इतिहास रच्नको लागि हजारौँ र लाखाँैले आत्मबलिदान दिएका छन् । विदेशी संस्कृति र राजनैतिक हस्तक्षेपमा आफ्नो पहिचान बिर्सेर हामी जहाँ दौडिरहेका छौ त्यहाँ शून्यता र अन्धकार भन्दा केही पाउनेछैनौ । हामी जुन धरातलमा उभिएका छौ त्यो विश्व जगतलाई एक स्वर्गीय आनन्द लिने गन्तव्य हो भन्ने हामीले किन बुझ्न सकेका छैनौ । कि त हामी अन्धो भयौ या त विचारसुन्य विवेक हित भयौ नत्र हैन भने जुन बाटोलाई हामीले अङ्गालेका छौ त्यो बाटो हामी भन्दा पहिल्यै पश्चिमा देशहरू अङ्गाली पुन आफ्नै पुरातन सभ्यतामा फर्किएका धेरै देशहरूको उदाहरण देख्न र सुन्न पाइन्छ ।

अझै टोपीको महत्त्व त अतुलनीय छ। टोपीलाई विश्वको शिखर सगरमाथाको उपमा दिइएको छ भने त्यो उपमा नेपालीको शिर हो जसले टोपी लगाई आफ्नो शिर गर्वले ठाडो गरी विश्वमा अघि बढ्न सक्दछौ ।
आजको समयमा नेपालको नेपाली पोशाक मात्र उपमा दिइएको दौरा सुरुवाल र टोपी, चौवन्दी गुन्यु(परिमार्जित रूपमा साडी) को महिमा अत्यन्तै ठुलो छ । आज हामी माझ छ र यसको आभास छैन तर हामीले यसलाई ऐतिहासिक नबनाई इतिहास बनायौ भने पक्केपनि इतिहासको कालखण्डमा हामीले आफैलाई नकार्ने दिन नआउला भन्न सकिँदैन । जुन महिमा यो पोशाकको छ त्यो महिमा हामी नेपालीको पनि छैन किनकि पहिचान छ त हामी छौ नत्र त के नेपाली के नेपाल ।

देश परिवर्तनको मोडमा छ, विकासको गति लिइरहेको छ तर यसको मतलब यो हैन कि नयाँ घर बनाउन पुरानो घरको इतिहास सक्नु नै पर्छ ।परिवर्तन त्यो हैन जसमा पहिचान गुमेको होस् परिवर्तन त्यो हो जसमा आत्मसम्मान सहितको विकास होस ।

परिवर्तनको नाममा, क्रान्तिको नाममा, विकासको नाममा, धर्मको नाममा, जातको नाममा,वर्गको नाममा पहिचानलाई लिलाम नगरियोस र संबृद्ध राष्ट्र बनाउने अभियानमा पहिचान सहितको पोसाकको रूपमा शताब्दी देखी मौलीक पहिचान बोकेको दौरासुरुवाल,टोपी तथा गुन्यु चोली( परिमार्जन कोट,साडी) लाई देशको राष्ट्रिय पोशाकको उपमा दिईयोस र यसको सगौरव संवर्धन,प्रवर्धन तथा संरक्षण गरियोस् ।

किन आवश्यक छ राष्ट्रिय पोशाक ?

हरेक देशको आफ्नो पोशाक हुन्छ तर प्रायः देशहरू कोट,पाइन्ट,सर्ट र टाईलाई सर्वव्यापी बनाउँछन् । जसरी हरेक देश पहिचानमा झन्डा देखाउँछ त्यसैगरि आफ्नो पहिचानको लागि आफ्नो राष्ट्रिय पोशाकलाई प्रर्दशित गर्ने गरेको देख्न तथा सुन्न सकिन्छ ।

नेपाल देश सानो छ तर हरेक देशको स्वाभिमानको कुनै मूल्य हुँदैन त्यसैले देशको राष्ट्रिय पोशाक हुनुपर्छ ।
देशको पहिचान विदेशमा झल्काउनको लागि विदेश यात्रा लगायतका अन्य औपचारिक कार्यक्रम तथा भेटवार्तामा पनि देशको राष्ट्रिय पोशाक लगाउनाले देशको शान,सम्मान तथा जनताको आत्मसम्मान समेत जोडिएको हुन्छ ।

विश्वमा नै पृथक्,ऐतिहासिक र बेग्लै पहिचान बोकेको पोशाकको रूपमा रहिआएको छ ।
हरेक राजनैतिक कार्यक्रम,समारोह,सरकारी कार्यालयका कर्मचारी तथा उच्च ओदाहका व्यक्तित्वहरूको आचरण तथा शिस्टतामा सम्पूर्ण देशको शान तथा इज्जत जोहिएको हुन्छ तसर्थ जनताको प्रतिनिधिको रूपमा विशिष्ट दर्जाका व्यक्तित्वहरूले दौरा सुरुवाल टोपी तगाएतका राष्ट्रिय पोशाक लगाई वैदेशिक भ्रमण गरिनुपर्छ ।
परिवर्तन सकारात्मक कुराहरूको गर्नुपर्दछ । नकारात्मक परिवर्तन जहिल्यै पनि विकासको बाधक हुन्छ ।

अन्त्यमा
देशको पहिचान,आत्मसम्मान,सार्वभौमसत्ता,सभ्यता,पहिचान,परिरनको जति गुणगान गरे पनि सकिँदैन किनकि यो मन त मेरो नेपाली हो ।
तर पनि नेपालको इतिहासमा राष्ट्रिय पोशाक तत्काल रहनुपर्ने माग गर्दै हामी यस अभियानलाई जीवन्त दिने प्रण गर्दछौ ।

राजानन्द माण्डव्य
अध्यक्ष( श्रद्धावान नेपाल)
राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल
राष्ट्रिय पोशाक दिवस

धन्यवाद ।
जय नेपाल, जय मात्रृभूमी, जय स्वाभिमान ।।