अफगानिस्तानबारे छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक
काठमाडौँ – राष्ट्र संघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बस्ने भएको छ । अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेसँगै आज राष्ट्र संघीय सुरक्षा परिषद्ले आकस्मिक बैठक बोलाएको हो ।
भारतको अध्यक्षतामा बस्ने बैठकले अफगानिस्तानको पछिल्लो घटनाबारे समीक्षा हुने जनाइएको छ । अफगानिस्तानमा नयाँ सरकार गठनको तयारी गरिरहेको तालिवानलाई अन्तर्राष्ट्रिय मान्यता दिने वा नदिने भन्ने बहस हुँदै गर्दा परिषद्को बैठकलाई अर्थ पूर्ण रुपले हेरिएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले तालिवानको सरकारलाई मान्यता दिन नसकिने बताइसकेका छन् । सुरक्षा परिषद्को अर्का सदस्य चीन अफगानिस्तान मामिलामा पूर्णतः मौन हुँदै आएको छ । चीनले गत महिना तालिवानका नेताहरुलाई स्वागत गरेको थियो ।
पछिल्लो २४ घण्टामा तालिवान लडाकुले नाटकीय रूपमा अफगानिस्तानको सत्ता कब्जा गरिसकेका छन् । विद्रोहीहरू राजधानी शहर छिरेलगत्तै त्यहाँका राष्ट्रपति असरफ धानी देश नै छाडेर भागेका छन् ।