महान्यायाधिवक्तालाई सपथ गराउन राष्ट्रपति भण्डारीले गरिन अस्विकार
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई उपपस्थित गराउन अस्वीकार गरेकी छन् । राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ हुने भएको छ ।
सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । तर शपथमा भने उनी उपस्थित हुन नमानेकी हुन् ।राष्ट्रपतिले आफ्नो उपस्थितिमा शपथ गराउन नमानेपछि सवा २ बजे सर्वोच्च अदालतमा नै शपथ गराउने तयारी भएको छ ।
महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने अभ्यास छ । तर, यसपटक भने राष्ट्रपतिले उक्त अभ्यास तोडेकी हुन् ।
महान्यायाधीवक्ता खातीले आफू राष्ट्रपति, सरकारको प्रमुख कानुनी सल्लाहकार रहेको र राष्ट्रपतिबाटै नियुक्ति गरिएको हुँदा शपथ पनि विगतको अभ्यास अनुसार हुनुपर्ने अडान लिएका थिए । तर राष्ट्रपति कार्यालयले भने सर्वोच्चलाई नै परिपत्र गरिएकोले उतै शपथ लिन र राष्ट्रपतिलाई भेट्ने भए आउन भनेको स्रोतले बतायो ।
यसअघिका महान्यायाधीवक्ता रमेश बडाललाई भने राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालयमा नै शपथ गराएका थिए ।
यसअघि वैशाखमा कोरोना संक्रमणको कारण देखाउँदै न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको शपथ पनि सर्वोच्च अदालतमा नै गरिएको थियो । गत वैशाखमा राष्ट्रपतिले कोरोना संक्रमण फैलिने भन्दै न्यायाधीशको शपथमा उपस्थित हुन नसकिने बताएकी थिइन् ।