ओलीलाई भावी प्रधानमन्त्री प्रस्ताव गरेपछि राष्ट्रपति असन्तुष्ट - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

ओलीलाई भावी प्रधानमन्त्री प्रस्ताव गरेपछि राष्ट्रपति असन्तुष्ट



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटि बैठक डाकेर आफूलाई भावी प्रधानमन्त्री बनाउने पार्टीबाटै निर्णय गराए । त्यसैको खुसियालीमा पाँचतारे होटल एभरेस्टमा भोज पनि खुवाए । आफू छमछमी नाचे, गितार बजाएर उत्सव मनाए ।

पार्टीका केहि फरक विचार राख्ने नेताहरूले ओलीलाई नै प्रधानमन्त्रीको रूपमा अगाडी सार्दा एमालेलाई घाटा हुने बताईरहँदा बहुमतको बलमा ओलीले आफैलाई भावी प्रधानमन्त्री बनाउने निर्णय गराए । तर एमालेभित्रको आसन्तुष्टि भने यथावत छ ।

यता नेताहरूले आफैले उम्मेद्वारी घोषणा गर्न पनि नपाउने गरी ओलीले पार्टीमा अंकुश लगाएका छन् । यसले गर्दा पहिले ओलीइतर भनेर चिनिएका नेताहरू समस्यामा पर्ने देखिएको छ । पहिलेदेखि नै ओलीको उपेक्षामा परेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टगायतका नेताहरूलाई तनाव बढेको छ । ओली यसैपनि पूर्वाग्रह साँधेर बस्ने नेता भएकाले उनीहरूमाथि यो चुनावमा निर्मम बन्ने पक्का छ ।

एमाले केन्द्रीय कमिटी १० र ११ भदौमा सकिएपछि चुनावी रणनीतिका लागि बोलाइएको त्यो बैठकले केन्द्रीय नेताहरूलाई उत्साह र भरोसा थप्ला भन्दा झनै समस्या थपेको नेताहरू बताउँछन्  । ११ भदौमा केन्द्रीय कमिटी बैठकले ‘भावी प्रधानमन्त्री केपी ओली’ भनेर चुनावमा जाने निर्णय गरेलगत्तै पार्टीमा अर्को खालको सन्नाटा छाएको छ । त्यसको साइड इफेक्टको रूपमा एमालेको बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आफैले फिर्ता पठाएको नागरिकता विधेयक हुबहु प्रमाणीकरण गर्न राजी भएको संदेश नेपाली कांग्रेसलाई दिएकी छन् । सोमबार प्रधानमन्त्री देउवासहितका नेताहरू उनलाई भेट्न शितलनिवास पुगेका थिए । उक्त भेटमा आफूले विधेयक नरोक्ने संदेश दिएको कांग्रेस नेताहरू बताउँछन् ।

एमालेकै एक नेताका अनुसार यो परिस्थिति निर्माण हुनुमा एमाले केन्द्रीय कमिटि बैठकबाट भएका निर्णयको हात छ । यसअघि एमालेसँग एउटा समझदारी बनिसकेको उनी बताउँछन् । एमालेको बैठकपछि परिस्थिति एकाएक मोडिएको बताइन्छ । आवस्यक परेको खण्डमा नागरिकता विधेयकलाई थाति राखेर पद छाड्ने र यसलाई चुनावी मसला बनाउने समझदारी भएको ति नेताको दाबी छ । तर एमालेसंगको समझदारी तोडेर राष्ट्रपतिले सरकारले फेरि पठाएको खण्डमा नागरिकता विधेयक पास गर्ने संदेश दिइसकेकी छन् । यसलाई ति नेताले एमालेसंगको समझदारी तोडिएको अर्थमा बुझेका छन् ।

एभरेस्ट होटलमा भएको भोजकै भोलिपल्ट १२ भदौमा राष्ट्रपति भण्डारीले एमालेका केहि केन्द्रीय सदस्यलाई शितलनिवास बोलाएर छलफल गरेको समेत खुलेको छ । एमालेका केहि केन्द्रीय सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासबाट निम्ता आएकाले तत्कालै त्यहाँ पुगेको बताइन्छ ।

शीतल पुगेका नेताहरूले एक घण्टा राष्ट्रपतिसँग संवाद गरेका थिए । सो भेटमा पुगेका एक केन्द्रीय सदस्यका अनुसार राष्ट्रपति भण्डारी एमालेको केन्द्रीय कमिटिका केहि निर्णयबाट सन्तुष्ट छैनन् । राष्ट्रपति भण्डारीले कुराकानीको शिलशिलामा यस्तो सन्देश दिन खोजेको ति नेताले बताए ।

सो भनेतामा नागरिकताको विषयमा पनि छलफल भएको बताइन्छ। छलफलमा केन्द्रीय सदस्यहरूले १५ बुँदे सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेको विषय ठीक थियो भनेर राष्ट्रपतिलाई सुनाएका थिए । उनीहरूको आशय राष्ट्रपतिले विधेयक फेरिपनि रोक्नुपर्‍यो भन्नेमै थियो । तर राष्ट्रपतिले भने अब सरकारले पठाएको खण्डमा आफूले रोक्न नसक्ने बताएकी थिइन् ।

एमाले नेताहरूसंगको अर्को छलफलमा राष्ट्रपतिले एमालेभित्रको राजनीति र नागरिकता विधेयकबारे छलफल गरेकी थिइन् । भेटमा राष्ट्रपति भण्डारीले आफू राष्ट्रपति भए पनि बाहिर आफूलाई एमाले नै भन्ने गरेको सुनाएकी थिइन् । त्यसपछि उनले एमालेमा ओलीपछि कसलाई अगाडी सार्ने अन्योल भएको समेत बताएकी थिइन् ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले आफू पनि एमालेको क्याडरकै भएकाले अबको निर्वाचनमा निकै चनाखो हुनुपर्ने बताएकी थिइन् । त्यसपछि राष्ट्रपतिले एमाले केन्द्रीय कमिटि बैठकमा के के भयो भन्दै चासो व्यक्त गरेकी थिइन् ।

केन्द्रीय कमिटिको बैठकले चुनावमा एमालेलाई उत्साह भर्ना सक्छ कि सक्दैन भन्ने प्रश्न समेत राष्ट्रपतिले गरेकी थिइन् । राष्ट्रपति भण्डारीले एमालेमा अध्यक्ष केपी ओलीपछिको नेतृत्वमा को हुने भन्ने तयारी पनि नभएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । ओलीपछिको पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा एमालेमा तयारी नभएको भन्दै उनी बैठकहरूमा यस्ता विषय नउठेकोमा असन्तुष्ट देखिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले भेटमा नागरिकताको विषयमा कानुनी उपायको खोजी गरिरहे पनि त्यसको समाधान नभेटिएको बताएकी थिइन् । छलफलमा राजीनामाको कुरा उठेपछि उनले राजीनामा दिने कुरा हल्ला मात्रै भएको बताएकी थिइन् ।

यसअघि ओलीकै पक्षमा देखिने राष्ट्रपति भण्डारी अहिले भने फरक अवस्थामा देखिएकी छन् । उनले ओलीपछि एमालेको नेतृत्व गर्ने व्यक्ति नभएको भन्दै चिन्ता व्यक्त गर्नु र पार्टीको बैठकमा भएका केहि निर्णयमा असन्तुष्टि देखाउनुले ओलीलाई भावी प्रधानमन्त्री बनाउने निर्णयबाट उनी सन्तुष्ट नभएको देखिने ति नेताले बताए ।