‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ हुनुपर्ने :राप्रपा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ हुनुपर्ने :राप्रपा



काठमाडौं, फागुन ३

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही फागुन ६ देखि काठमाडौंमा शुरू हुने एकता महाधिवेशनमा ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ हुनुपर्ने राजनीतिक प्रस्ताव लैजाने भएको छ ।

गणतन्त्र मान्दै आएको पशुपति शमशेर नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एकीकरण भएपछि हुन लागेको एकता महाधिवेशनमा यस्तो प्रस्ताव लैजान लागिएको हो ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, ‘‘राप्रपाको वैचारिक आधार संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ हुने छ ।  सोमबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत प्रस्तावलाई अनुमोदन गरेको छ । ’’
पार्टी एकीकरणको समयमा दुई धु्रवमा विभक्त यी दुई दलले पार्टीको एकता महाधिवेशनले पारित गर्ने राजनीतिक प्रस्तावलाई मानेर जाने सहमति गरेका थिए ।  पार्टीले हिन्दू धर्मलाई पनि पार्टीको आदर्शका रूपमा अङ्गीकार गर्ने प्रस्ताव गरेको छ ।

राप्रपाले गणतन्त्र घोषणा हुँदा पनि त्यसको पक्षमा मत हालेको थियो भने तत्कालीन राप्रपा नेपालले भने त्यसको विपक्षमा मत दिएको थियो ।  पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले ठाउँ–ठाउँमा ‘राजतन्त्र’ भन्ने शब्द रहेकोमा असन्तुष्टि जनाउनुभएको जानकारी पनि प्राप्त भएको छ ।

‘शान्ति, प्रजातन्त्र र खुला बजारमुखी अर्थतन्त्र’ शीर्षकको प्रस्तावमा भनिएको छ, ‘‘आर्थिक समद्धिको मूल आधार नै खुलाबजारमुखी आर्थिक व्यवस्था हुन पुगेको छ, राप्रपा मुलुकको समग्र आर्थिक विकासको सन्दर्भमा खुला बजारमुखी आर्थिक व्यवस्थाप्रति प्रतिबद्ध रहने छ । ’’