रानीमहलमा पर्यटनमन्त्री पुगे: उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्घोष - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

रानीमहलमा पर्यटनमन्त्री पुगे: उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्घोष



पाल्पा। ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको कालीगण्डकी नदी किनारमा रहेको रानीमहल स्थानीय तहलाई हस्तान्तरण गरिने गृहकार्य अघि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले बताएका छन् । उनले एक महिनाभित्र तानसेन नगरपालिकालाई रानीमहल हस्तान्तरण गरी संरक्षणको सम्पूर्ण जिम्मेवारी प्रदान गर्नेे बताएका हुन् ।

पश्चिम नेपालको पहाडी जिल्ला पाल्पामा पर्ने नेपालको ताजमहलका रुपमा परिचित रानीमहलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएको समयमा पर्यटनको सम्भावनालाई उजागर गर्न मन्त्री अधिकारी रानीमहल पुगेको बताएका हुन् । उनले एक महिना भित्रमा पुरातत्व विभागको अधिकार तानसेन नगरपालिकामा हस्तान्तरण गरिने बताएका छन् ।

उनले रानीमहल क्षेत्रको संरक्षण सम्वद्र्धन गर्न यहाँका जनता नै लाग्नु आवश्यक रहेको समेत बताए । पाल्पाली संगम काठमाडौँको पहलमा पर्यटन प्रर्वद्धनका लागि पर्यटन मन्त्री रविन्द्र अधिकारी रानीमहल आएका हुन् । उनका साथमा पाल्पा र काठमाडौँका पत्रकारहरुको टोलीले पर्यटकीय स्थलहरुको भ्रमण अवलोकन तथा अन्तक्र्रिया गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाल्पाको ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीमहललाई स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पु¥याएको रानीमहलमा आयोजित अन्तरक्रियामा मन्त्री अधिकारीले बताएका छन् । स्थानीय तहलाई हस्तान्तरण गरेपछि अपनत्व र स्वामित्व पनि लिएर यसको विकास गरेर पर्यटक भिœयाउने योजना बनाएको उनले बताए ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित रानीमहलमै आयोजना गरेको अन्तरक्रियामा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले स्थानीय तहमा हस्तान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । मुलुक संघीयतामा गएकाले अब स्थानीय तहलाई हस्तान्तरण गरेर सोही अनुसारको विकास गर्ने योजना बनेको मन्त्री अधिकारीले बताए । रानीमहललाई पुरातात्विक हिसाबले जस्ताको तस्तै राख्नुपर्ने, सम्पदाको पुरातात्विक कुरा बिगार्न नपाइने गरी नगरपालिका र पुरातत्व विभागबीचसमेत सम्झौतापत्र तयारी भैरहेको छ । रानीमहलमा आयआर्जनका काममा प्रयोग गर्न सकिने भएकाले बढीभन्दा बढी प्रयोग गर्न कसरी सकिन्छ भन्ने हिसाबले पनि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको हो । ‘नेपालमा पर्यटनको ठूलो सम्भावना भए पनि आवश्यक भौतिक संरचना नहुँदा अहिले नेपालले ठूलो मात्रामा पर्यटक गुमाउनुपरेको छ’, अधिकारीले भने, ‘अहिले रेमिट्यान्स लगातार घटिरहेको छ । त्यसको क्षतिलाई पर्यटनबाट मात्रै पूर्ति गर्न सकिन्छ । जीडीपीमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु¥याउने मेरो लक्ष्य छ ।’

१ सय २५ वर्षअघि तत्कालीन राणाकालीन जनरल खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा ‘रानीमहल’ बनाएका हुन् । कालीगण्डकी नदी किनारमा भव्य महल बनेको र त्यसैलाई अहिले प्रेमको प्रतिकका रुपमा रानीमहल भनेर चिनिन्छ । पुरातत्व विभाग, स्थानीय तह र सम्बन्धित वडाले समेत प्रयोगमा ल्याउन नसक्दा अहिले अलपत्र बनेको छ । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेय, प्रदेससभा सदस्य नारायण आचार्य, डा. पुरनमान बज्राचार्य, वीरबहादुर राना, रमा घर्ती, जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्याल, तानसेन नगरपालिकाका मेयर अशोकुमार शाही, एमाले नेता ठाकुर गैरे, पाल्पाली संगमका विष्णुबहादुर खत्रीलगायतले पर्यटनसँग जोडेर रानीमहललाई आगामी दिनमा प्रमुख गन्तव्यका रुपमा विकास गर्न आफूहरुले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उक्त महल वि.सं. १९४९ मा सुरु गरेर ५४ मा निर्माण कार्य सकिएको हो । १ सय १९ वर्षअघि रानीको सम्झनामा बनाएका हुन् । भनिन्छ, खड्गशमशेरले आफ्नी रानीको मृत्युअघि काखमा राखेर तिमीले जे भने पनि मान्छु भन्दा, ‘मेरो नाममा नदीको किनार र एकान्त ठाउ“मा भव्य महल बनाउनु’ भनिन् । त्यही अनुसार यो भवन बनाएका हुन् । दरबार बनाउन कालीगण्डकी नदीमा जग हालिएको छ । यसलाई भारतको आग्रा स्थित ताजमहलसँग पनि तुलना गर्ने गर्छन् । रानीमहल दरबारभित्र ठूला ठूला कोठा छन् । काठैकाठ छन् । बाहिरबाट हेर्दा निकै सुन्दर देखिन्छ । तत्कालिन बेलायती ईन्जिनियरहरु भारतबाट झिकाएर यसको डिजाइन गरेका हुन् । २०४२ सालको हावा हुरीले महललाई कुरुप बनाएको थियो । २०५४ सालमा लाखौँ खर्चेर पुनःनिर्माण गरिए पनि संरक्षण गर्ने कोही नह“ुदा जीर्ण बन्दै गयो । अहिले त्यसको पुनःमर्मत गरिएको हो । यहा“ घोडा बा“ध्ने तबेला, पौडी पोखरी, बुर्जा, मन्दिरलगायत छन् ।

पाल्पाली संगम काठमाडांैका अध्यक्ष रुद्रनाथ बस्याल, पूर्व डिआईजी कुवेरसिंह रानाको नेतृत्वमा आएको टोलीले सोमबार तानसेनस्थित प्रमुख जिल्ला अधिकारी र जिल्लाका पत्रकारहरुसँग भ्रमणको उद्देश्यबारे अन्तरक्रिया तथा परिचायात्मक कार्यक्रम गरेको थियो । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्लाको परिचय र पर्यटन विकासमा सम्भावनाबारे जानकारी दिएका थिए ।
राजधानीबाट आएका पत्रकारहरुसँग पाल्पा प्रवेश गर्ने गेटमा एमाले नेता ठाकुर गैरेको पहलमा पत्रकार सम्मेलन गरी बुटवलदेखि पाल्पाको सडकलाई यथाशक्य छिटो सुरक्षित र फराकिलो बनाउनेतर्फ पहल गर्न केन्द्र र प्रदेश सरकारसँग माग गरिएको बताएका छन् ।