राम रहीमलाई आजीवन जेल सजाय ! - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

राम रहीमलाई आजीवन जेल सजाय !



भारत : दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा सच्चा सौदा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्।

भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमलाई बिहीबार आजीवन कारावासको सजाय सुनाएको छ।

छत्रपतिको हत्यामा रहीमसँगै दोषी ठहरिएका कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई पनि आजीवन जेल सजाय तोकिएको छ। पत्रकार छत्रपतिको हत्या सन् २००२ मा भएको थियो।

रहीमलाई सजाय सुनाएसँगै डेरा सच्चा सौदाकी वरिष्ठ उपाध्यक्ष शोभा इंसांले आफ्ना समर्थकलाई शान्ति कायम गर्न अपील गरेकी छन्। ट्विटमार्फत् उनले यो मामिलामा कानुनी प्रक्रियाबाट अगाडि बढ्ने जानकारी पनि दिएकी छन्।

रहीमलाई गत वर्ष बलात्कार मुद्दामा दोषी ठहर्याउँदा उनका अनुयायीले विरोध गरेका थिए। हरियाणाको सिरसा र पंचकुलामा विरोधक्रममा हिंसा भड्किँदा ४० जनाको मृत्यु पनि भयो। यसैकारण रहीमलाई हत्याको दोषी ठहर्याएदेखि नै हरियाणा र पन्जाबको सुरक्षा कडा गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार एक वर्षदेखि जेलमा रहँदै आएका रहीमसँग छत्रपति हत्याबारे सोधपुछ भिडियो कन्फ्रेन्समार्फत गरिएको थियो। यही अदालतले उनलाई गत वर्ष बलात्कार मुद्दामा दोषी ठहराउँदै २० वर्ष जेल सजाय तोकेको थियो। अनुयायीको बलात्कारबारे सबभन्दा पहिले पत्रकार छत्रपतिले नै सन् २००२ मा जानकारी दिएका थिए।

सञ्चारमाध्यमका अनुसार छत्रपति सिरसाको सन्ध्याकालीन दैनिक ‘पूरा सच’ का सम्पादक थिए। रहीमका महिला अनुयायीमाथि बलात्कार भइरहेको समाचार प्रकाशन गरेपछि उनलाई गोली हानिएको थियो। गम्भीर घाइते भएका छत्रपतिको उपचारक्रममै दुई दिनपछि निधन भएको थियो।

५१ वर्षीय रहीम हाल रोहतकको सुनारिया जेलमा छन्।एजेन्सी