ओली र रावल ५३ सालदेखि नै राष्ट्रघातमा लागेको किस्साबारे बोलिन् रामकुमारी
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् ।
ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पारित गर्न मरिमेटेर लागेको दाबी गर्दै उनले अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोश व्यक्त गरिन् ।
शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्ने गरी व्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढ्नुपरेको जिकिर गरिन् ।
“खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुर्क्याएर लागिपरेको मान्छे आज एमसीसीको विरोध गर्दै छन् । त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद,” उनले भनिन्, “कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दै छन्, मलाई सम्झना छ– ५३ सालमा योभन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम रावलको पोजिसन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिसन के थियो महाकाली सन्धिका बेला ?”
नेत्री झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सद्भावना पार्टीको जस्तै हुने टिप्पणी पनि गरिन् ।
उनले ‘कम्युनिस्ट आन्दोलनलाई सत्यानाश बनाउने बाटोमा’ अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरूले सत्ताबाट हटाएको समेत पटक–पटक दोहोर्याइन् ।