रामदेवविरुद्ध उजुरी दर्ता: प्रहरीले पक्राउ गर्नसक्ने - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

रामदेवविरुद्ध उजुरी दर्ता: प्रहरीले पक्राउ गर्नसक्ने



एजेन्सी- कोरोना भाइरसविरुद्धको औषधि बनाएको भनेर दाबी गर्दै सार्वजनिक गरेको पाँच घण्टामै झट्का लागेका बाबा रामदेवविरुद्ध भारतमा उजुरी दर्ता गरिएको छ ।

भारत सरकारले उनले बनाएको कोरोनिल औषधिमाथि प्रतिवन्ध लगाइसकेको छ । पतञ्जलि कम्पनीले मंगलवार औषधि ल्याउने घोषणा गरेदेखि नै बाबा रामदेव विवादमा परेका छन् ।

औषधिको शुभारम्भ गरिएको भनी प्रचार गरेको पाँच घन्टाभित्र भारतको केन्द्र सरकारले कोरोनिल औषधिमा रोक लगाएको छ । अनुमति नलिइकन उपचारको दाबी गर्नु गलत भएको उसको जिकिर छ ।

औषधि ल्याउनुअघि त्यसमा गरिएको अनुसन्धानको विवरण दिनुपर्ने हुन्छ । रामदेव चाहिँ औषधिको ट्रायल गरिसकिएको बताउँछन् ।

राजस्थानको जयपुरमा रामदेवविरुद्ध उजुरी दर्ता गरिएको छ । डा संजीव गुप्ताले गान्धी नगर थानामा उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् । कोरोनाको औषधि बनाएको भनेर रामदेवले मानिसहरूलाई भ्रमित पारेको आरोप उनले लगाएका छन् ।

उजुरीमा उनलाई तत्काल पक्राउ गर्नुपर्ने र कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखिएको छ । भातर सरकारले नै उनको औषधिमा रोक लगाएको कारण प्रहरीले तत्काल पक्राउ गर्नसक्ने बताइएको छ ।