बाबा रामदेवविरुद्ध मुद्दा दर्ता - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

बाबा रामदेवविरुद्ध मुद्दा दर्ता



नयाँदिल्ली- योग गुरु स्वामी रामदेव माथि भ्रामक प्रचार गरेको र अफवाह फैलाएको भन्दै मुद्दा दर्ता भएको छ । उनलाई कोरोना महाब्याधी र यसका औधषीबारे भ्रामक तथा झुठा दाबी प्रस्तुत गरेको आरोपमा भारतको छत्तिस गढ राज्यको राजधानी रायपुर प्रहरीमा मुद्दा दायर भएको छ ।

रायपुर प्रहरीका अनुसार उनी विरुद्ध इन्डियन मेडिकल एशोसिएसनको छत्तिसगढ शाखाले याचिका दर्ता गराएको हो । उनीमाथि कोरोना महाब्याधीजस्तो खतरनाक रोगका विरुद्धमा प्रमाणित नभएका झुठ बोलेको, रोगबारे सर्वसाधारणमा असावधानी फैलाएको, कोरोना महामारीको खोप र प्रमाणिक औधषी विरुद्ध अविश्वास सृजना गर्न खोजेको र यस्त कार्य मार्फत् समाजको शान्ति र अमनचैनमा खलल पुर्‍याएको आरोप लगाइएको छ ।

समाचार माध्यमका अनुसार निवेदनमा डा. विकास अग्रवाल र डा. राकेश गुप्तालगायतले हस्ताक्षर गरेका छन् । स्वामी रामदेवले विगत एक वर्ष यता एलोप्याथिक चिकित्सा प्रणाली, अक्सिन सिलिन्डरको प्रयोग, भेन्टिलेटर र कोरोना खोपबारे आलोचनात्मक टिप्पणी गर्ने गरेका थिए । उनले कोरोना महामारीमा निधन भएका डाक्टरहरुको झुठो विवरण दिँदै ‘आफैलाई बचाउँन नसक्ने डाक्टरले बिमारलाई के बचाउँछन’ भनेका थिए ।

निवेदनमा स्वामी रामदेवका अभिव्यक्तिले डाक्टर, नर्स, ल्याव प्राविधिक, अस्पताल कर्मचारी लगायत महामारी विरुद्ध अग्रमोर्चामा रहेकाहरुको योगदानको अवमूल्यन र अपमान भएको तथा बिमारीको मृत्यु हुन सक्ने जोखिम बढेको आरोप लगाईएको छ ।

स्वामी रामदेवले एलोप्याथिक चिकित्साको साटो योगा र आयुर्वेद प्रणाली अबलम्बन गरे कोरोनाबाट बच्न सकिने तर्क गरेका थिए । रामदेवका यस्ता तर्कहरुको व्यापक आलोचना भएपछि गत हप्ता उनले सार्वजनिक क्षमायाचना गरेका थिए । स्वास्थ्य मन्त्रालयले उनलाई जथाभावी नबोल्न चेतावनी दिएको थियो ।